प्रतिकूल मौसम हेरेर मात्रै दसैँको अग्रिम टिकट बुकिङ खुलाइने

काठमाडौं । यातायात व्यवस्था विभागले प्रतिकूल मौसमको अवस्था हेरेर मात्रै दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने जनाएको छ।

चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापनका विषयमा सोमबार काठमाडौंमा सरोकारवाला निकायसँग भएको छलफलमा विभागले हाल जारी विपद् तथा आगामी केही दिनको मौसमको अवस्था हेरेर अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा आवश्यक निर्णय गरिने जनाएको हो।

सरोकारवालाहरूले पनि विपद् र प्रतिकूल मौसमको अवस्था हेरेर मात्रै अग्रिम टिकट बुकिङ खुला गर्नु उपयुक्त हुने सुझाव दिएका छन्।

यस्तै, चाडपर्वमा सञ्चालन हुने लामो दूरीका सवारीसाधनको ‘भेहिकल फिटनेस टेस्ट’ औपचारिकतामा मात्र सीमित नगरी कडाइका साथ वास्तविक परीक्षण गरेर मात्रै रुट परमिट दिन निर्देशन दिइने विभागका महानिर्देशक राजीव पोखरेलले बताए।

सडक जाम नियन्त्रण, सवारी छुट्ने समयको पालना तथा राजमार्गका होटल, खाजाघर र शौचालयको गुणस्तर एवं सरसफाइ अनुगमन गर्न गृह मन्त्रालयमार्फत ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवार बनाइने पोखरेलले बताए।

बाढी र पहिरोका कारण अवरुद्ध बीपी राजमार्ग तथा हेटौँडा जोड्ने सडक लगायतका राजमार्ग तत्काल सफा तथा मर्मत गर्न पूर्वाधार मन्त्रालयमार्फत सडक विभागलाई पत्राचार गरिने विभागले जनाएको छ।

त्यस्तै, चाडपर्वको समयमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि नेपालमा भाडादर नबढ्ने गरी इन्धनको मूल्य स्थिर राख्न उद्योग तथा वाणिज्य मन्त्रालयमार्फत पहल गर्ने निर्णय भएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले भाडा समायोजन गर्नुका साथै चाडपर्वको अवधिभर इन्धनको मूल्य स्थिर राख्न आग्रह गरे। यातायात व्यवस्था विभागले एक वर्षपछि भाडा समायोजन गरेकोमा प्रशंसा गर्दै उनले केही प्राविधिक त्रुटि सुधार गर्न पनि सुझाव दिए।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि राज्यले घाटा बेहोरेर भए पनि चाडपर्वभर इन्धनको मूल्य नबढाउन सिटौलाले आग्रह गरे।

अनलाइन टिकटिङ तथा प्रविधिमैत्री सेवा लागू गर्न व्यवसायीहरू तयार भए पनि विभागले स्पष्ट कार्यविधि र प्राविधिक मापदण्ड नबनाएका कारण समस्या भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार