
काठमाडौँ । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले अब दुई दिन अगावै आकस्मिक बाढीको जोखिम पूर्वानुमान गर्ने भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङले मंगलबार जल तथा मौसम विज्ञान विभाग पुगेर पूर्वतयारी तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको भोलिपल्टै जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत रहेको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बाढी तथा आकस्मिक बाढीको पूर्वानुमान अवधि विस्तार गरेको हो।
केन्द्रका प्रवक्ता डा. राजन भट्टराईका अनुसार जल विज्ञान तथा बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवामा सुधार गर्दै बुधबारदेखि प्रमुख नदीहरूमा बाढीको पूर्वानुमान अवधि तीन दिनबाट बढाएर पाँच दिन पुर्याइएको छ। त्यस्तै, नेपालभरका स–साना नदीमा आकस्मिक बाढीको जोखिम पूर्वानुमान अवधि २४ घण्टाबाट बढाएर ४८ घण्टा पुर्याइएको छ।
भट्टराईका अनुसार केन्द्रको आफ्नै नेपालकेन्द्रित बाढी पूर्वानुमान मोडेल तथा युरोपेली मध्यम-अवधि मौसम पूर्वानुमान केन्द्र (ECMWF) को समष्टिगत पूर्वानुमानमा आधारित प्रणालीलाई विश्वव्यापी तथा क्षेत्रीय स्तरमा उपलब्ध विभिन्न जल विज्ञानसम्बन्धी पूर्वानुमान मोडेलसँग एकीकृत गरी नयाँ प्रणाली सञ्चालनमा ल्याइएको हो।
दुईदिने आकस्मिक बाढी जोखिम पूर्वानुमान तयार गर्दा दक्षिण एसिया आकस्मिक बाढी विश्लेषण प्रणाली, भू–चिस्यान, हालको नदी जलसतह तथा प्रवाह, वर्षाको पूर्वानुमान, जलाधारको अवस्था र अन्य महत्वपूर्ण जल विज्ञानसम्बन्धी सूचकहरूको समग्र विश्लेषण गरिने केन्द्रले जनाएको छ।
यसबाट सम्भावित बाढी तथा आकस्मिक बाढीको जोखिमबारे समयमै जानकारी प्राप्त हुने र पूर्वतयारी, सतर्कता, जोखिम न्यूनीकरण तथा आवश्यक प्रतिकार्यका लागि थप समय उपलब्ध हुने अपेक्षा गरिएको छ।
केन्द्रले आगामी दिनमा स्थानविशेष पूर्वानुमानको शुद्धता र समयगत शुद्धता बढाउँदै प्रभावमा आधारित पूर्वानुमान, स्थानीय जोखिम पहिचान तथा पूर्वसूचना प्रणालीलाई थप सुदृढ गर्दै लैजाने प्रवक्ता भट्टराईले बताए।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित