राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न परमादेश जारी गरेको छ।

दाहालकी छोरी डेनी दाहालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल पोखरेलको संयुक्त इजलासले रिट जारी गरेको हो।

दाहाललाई थुनामा राखिराख्नुपर्ने आधार र कारण नदेखिएको ठहर गर्दै सर्वोच्चले आजैका मितिदेखि तारेखमा राखेर रिहा गर्न आदेश दिएको छ।

सर्वोच्चको आदेशमा दाहालले संविधान तथा कानुनविपरीत हिंसात्मक आन्दोलनका लागि आह्वान गरेको नदेखिएको उल्लेख छ।

काठमाडौं जिल्ला अदालतले पहिलो पटक तीन दिनको म्याद थप गर्दा बयानलगायतका कार्य सम्पन्न गर्नुपर्ने आधार लिएको भए पनि दाहालको बयान असोज ६ गते नै सम्पन्न भइसकेको सर्वोच्चले स्मरण गराएको छ।

दाहालले ‘ग्रे जोन’को रिपोर्टबारे सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गरेका थिए। उनलाई साइबर अपराधको कसुरमा असोज ४ गते मोरङको बेलबारीबाट पक्राउ गरिएको थियो।

प्रतिक्रिया

ताजा समाचार