
चितवन । नारायणी नदी र रिउ खोलामा पानीको सतह खतराको बिन्दुभन्दा माथि पुगेपछि चितवनका नदी तथा खोला तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ।
जल तथा मौसम विज्ञान विभागको आज बिहानको तथ्याङ्कअनुसार चितवन भएर बहने नारायणी नदी र रिउ खोलामा जलसतहले सतर्कता तथा खतराको तह पार गरिसकेको छ। विभागले नदी तथा खोला किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
चितवनको देवघाटस्थित नारायणी नदीमा पानीको सतह १०.११ मिटर पुगेको छ। यहाँ खतराको तह ९ मिटर निर्धारण गरिएको छ। नारायणीमा ७.३ मिटर पानीको सतह पुगेपछि चेतावनीको तह पार हुने भए पनि अहिले जलसतह निरन्तर बढिरहेको छ। यससँगै नदी आसपासका तल्लो क्षेत्रमा कटान तथा डुबानको जोखिम बढेको छ।
भरतपुर महानगरपालिका–१७ र २८ का नदी तटीय क्षेत्रका केही बस्तीमा पानी पस्न थालेकाले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
त्यसैगरी, चितवनको बनकट्टास्थित रिउ खोलामा पानीको सतह ४.६२ मिटर पुगेको छ। रिउ खोलामा खतराको तह ३.८० मिटर र चेतावनीको तह ३.४० मिटर निर्धारण गरिएको छ। पानीको सतह केही घटे पनि अझै खतराको तहभन्दा माथि नै रहेको छ।
नारायणी नदी र रिउ खोलामा पानीको बहाव उच्च रहेकाले नदी तथा खोला किनार र आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन तथा सुरक्षित स्थानतर्फ जान जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित