
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरिएको विषयमा बुझ्न पुगेको आयोगको टोलीलाई भेट्न नदिएको भन्दै आपत्ति जनाएको छ।
आयोगले विज्ञप्ति जारी गर्दै आफ्नो अनुगमन कार्यमा अवरोध पुर्याउने प्रहरी कर्मचारीमाथि छानबिन गरी कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिअनुसार जबराको पक्राउबारे सत्यतथ्य बुझ्न तथा अनुगमन गर्न आयोगका पदाधिकारी टेकु पुगेका थिए। तर, प्रहरी प्रशासनले आयोगको टोलीलाई जबरासँग भेट गर्न नदिएको आयोगको भनाइ छ।
प्रहरीको उच्च नेतृत्वसँग यस विषयमा छलफल गर्दा समेत अनुगमनमा रोक लगाउनुको स्पष्ट कारण जानकारी नगराइएको आयोगले जनाएको छ।
आयोगले आवश्यकता अनुसार कुनै पनि सार्वजनिक वा निजी संस्थाको निरीक्षण तथा अनुगमन गर्ने, मानव अधिकार संरक्षणका लागि सुधार गर्नुपर्ने विषयमा सम्बन्धित निकायलाई सुझाव तथा निर्देशन दिने कानुनी अधिकार आफूलाई रहेको स्मरण गराएको छ।
संवैधानिक तथा कानुनी प्रावधानविपरीत भेटघाट तथा अनुगमनमा अवरोध पुर्याइएको भन्दै आयोगले उक्त व्यवहारप्रति खेदसमेत प्रकट गरेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित