नारायणीमा क्रुजसिप बगेपछि सुरक्षाको तयारीमाथि प्रश्न, सञ्चालक भन्छन्– ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार बाँधेका थियौँ’

चितवन । नारायणी नदीमा व्यावसायिक प्रयोजनका लागि सञ्चालनमा रहेको क्रुजसिप बाढीले बगाएपछि त्यसलाई सुरक्षित रूपमा बाँधेर राखिएको थियो कि थिएन भन्ने प्रश्न उठेको छ।

नदीमा राखिएको घरजत्रै ठूलो क्रुजसिपको आपत्कालीन व्यवस्थापनका लागि सञ्चालकले गरेको तयारीबारे पनि स्थानीय प्रशासनले प्रश्न उठाएको छ।

राइनोज क्रुजसिपका निर्देशक दीपक ढुङ्गेलले भने क्रुजसिपलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै बाँधेर राखिएको दाबी गरेका छन्।

उनका अनुसार सुरक्षाका लागि क्रुजसिपलाई २० एमएमका दुईवटा टु-चेन डोरी तथा अन्तर्राष्ट्रिय अभ्यासअनुसारका अन्य उपाय अपनाएर बाँधिएको थियो। तर, प्राकृतिक विपत्तिका कारण आएको ठूलो बहाव थेग्न नसक्दा क्रुजसिप बगेको उनले बताए।

विपद्का बेला गर्नुपर्ने तयारीका विषयमा भने आफूहरू क्रुजसिपका प्रवर्द्धक (इनिसिएटर) मात्र भएकाले यस्तो प्राकृतिक विपद्को समयमा राज्यको पनि सहयोग आवश्यक पर्ने उनले बताए।

क्रुजसिपको तौल ६० टन रहेको छ। ९५ फिट लामो र २१ फिट चौडा भएकाले त्यसलाई फलाम काटेर निकाल्नसमेत सहज नभएको ढुङ्गेलले बताए।

अहिले क्रुजसिप निकाल्न एक्साभेटर र क्रेन प्रयोग गर्ने विषयमा छलफल भइरहेको छ। क्रेनले तान्नुबाहेक तत्काल अन्य विकल्प नदेखिएको ढुङ्गेलको भनाइ छ।

उनका अनुसार क्रुजसिप अहिले किनारपट्टि पल्टिएको अवस्थामा रहेकाले पानीको बहाव घटेपछि तत्काल ठूलो जोखिम नहुने देखिन्छ। क्रुजसिप काट्नुको सट्टा त्यसलाई जोगाउँदै नजिकैको पुलमा समेत क्षति हुन नदिने गरी क्रेन र एक्साभेटरको सहायताले किनारतर्फ तान्नु उपयुक्त हुने उनले बताए।

प्रतिक्रिया

ताजा समाचार