
ललितपुर । ललितपुर महानगरपालिका–२४ धापाखेलमा अविरल वर्षाका कारण जमिन भासिँदा साढे दुई तले पक्की घर खोलामा खसेको छ । घर खसेर खोला थुनिए पनि समयमै उद्धार तथा सतर्कता अपनाइएकाले मानवीय क्षति भने हुन पाएन ।
प्रहरी प्रभाग धापाखेलका अनुसार स्थानीय सोबितकुमार थापाको घर पहिरोका कारण जोखिममा परेको थियो । असोज ११ गते दिउँसो करिब १ः४० बजे घरको भुइँतलासँग जोडिएको ट्रसको भान्सा कोठा करिब २० मिटर तल खसेपछि मुख्य घरसमेत जोखिममा परेको थियो ।
घटनालगत्तै प्रहरी सहायक निरीक्षकको कमान्डमा चार जनाको टोली घटनास्थल पुगेको थियो । जोखिमको अवस्था आकलन गरी घरमा रहेका तीन जनालाई तत्काल आफन्तको घरमा सुरक्षित स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।
असोज १२ गते बिहान ६ः३५ बजे साढे दुई तले पक्की घर पूर्ण रूपमा भासिएर खोलामा खसेको हो । घर खोलामा खसेपछि खोलाको पानीसमेत थुनिएको प्रहरीले जनाएको छ ।
हाल प्रहरी टोली घटनास्थलमा खटिएर थुनिएको खोलाको निकास खुलाउने तथा थप जोखिम न्यूनीकरण गर्ने काममा जुटेको छ । घटनास्थल धापाखेल प्रहरी प्रभागबाट करिब ७०० मिटर पूर्वमा पर्छ ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित