
काठमाडौं । मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनलाई केहीबेरअघि भक्तपुरस्थित निवासबाटै नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडाविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा प्रसाईँविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो । जेनजी आन्दोलनका शहीद रसिक खतिवडाकी आमा समेत रहेकी सांसद खतिवडालाई लक्षित गर्दै प्रसाईँले ‘छोराको लाशमा टेकेर संसद् बनेको’ आरोप लगाएका थिए ।
प्रसाईँको उक्त अभिव्यक्तिप्रति सांसद खतिवडाले संसद् बैठकमै आपत्ति जनाएकी थिइन् । आपत्ति जनाउने क्रममा उनी भक्कानिएर रोएकी थिइन् ।
उक्त अभिव्यक्तिविरुद्ध खतिवडाको परिवारका तर्फबाट साइबर ब्यूरोमा उजुरी परेको बताइएको छ ।
प्रसाईँका छोरा निराजन प्रसाईँले साइबर ब्यूरोबाट पक्राउ पुर्जी लिएर आएका प्रहरीले आफ्ना बुबालाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन् ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित