
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका कारण क्षतिग्रस्त सडकहरू चाडपर्वको समयमा अस्थायी रूपमा भए पनि सञ्चालनयोग्य बनाउन आग्रह गरेका छन् ।
सोमबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समिति बैठकमा बोल्दै सिटौलाले विगत दुई वर्षदेखि प्राकृतिक विपद्का कारण सडक यातायात प्रभावित हुँदै आएको र यसपटक बाढीपहिरोले सडकहरू थप क्षतिग्रस्त भएको बताए ।
चाडपर्वलाई लक्षित गर्दै आगामी १५–२० दिनका लागि भए पनि सडकका खाल्डाखुल्डी पुर्ने तथा आवश्यक मर्मत गरी सञ्चालनयोग्य बनाउन सम्बन्धित सबै पक्ष मिलेर काम गर्नुपर्ने उनको भनाइ छ ।
अग्रिम टिकट बुकिङ खोल्नु मात्रै पर्याप्त नभएको भन्दै सिटौलाले यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउनु मुख्य चुनौती रहेको बताए । उनले नयाँ बसपार्क तथा सरकारले तोकेका आधिकारिक काउन्टरबाट परिचयपत्र र पोसाक लगाएका कर्मचारीमार्फत मात्र टिकट बिक्री गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि चाडपर्वको अवधिभर पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्न आग्रह गर्दै उनले घाटा भए सरकारले बेहोर्नुपर्ने बताए । इन्धनको मूल्य नबढे व्यवसायीहरूले कुनै पनि हालतमा सार्वजनिक यातायातको भाडा नबढाउने उनले स्पष्ट पारे ।
घटस्थापनादेखि टीकासम्म यात्रुको अत्यधिक चाप हुने भएकाले काठमाडौं उपत्यकामा सञ्चालन हुने पर्याप्त सवारीसाधनलाई समेत बाहिरी जिल्लामा चलाउन अनुमति दिनुपर्ने सिटौलाले बताए ।
चाडपर्वको मुख्य समयमा मालवाहक ठूला सवारीसाधनलाई नारायणगढलगायतका स्थानमा रोकेर यात्रुवाहक बसलाई प्राथमिकता दिने विगतको अभ्यासलाई निरन्तरता दिनुपर्ने सुझावसमेत उनले दिए ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित