भोटेकोसी–त्रिशूली विपद् संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते

काठमाडौं । भोटेकोसी–त्रिशूली विपद् तथा जलवायु परिवर्तनसम्बन्धी संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हुने भएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले असोज १४ गते दिउँसो २ बजे समितिको सभापति निर्वाचन हुने जानकारी दिए ।

गत असोज ५ गते हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी–त्रिशूली विपद्सम्बन्धी १५ सदस्यीय संसदीय विशेष समिति गठन गरिएको थियो । समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आठ सांसद छन् ।

रास्वपाबाट गणेश पराजुली, निशा डाँगी, अनुष्का श्रेष्ठ, सुजाता तामाङ, धनञ्जय रेग्मी, अचुतम लामिछाने, रविन्द्र पटेल र मिङमा ग्याबु शेर्पा सदस्य छन् ।

त्यस्तै, नेपाली कांग्रेसबाट मोहन आचार्य र उर्मिला थपलिया, नेकपा (एमाले)बाट पुष्पराज कँडेल र गंगा श्रेष्ठ तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रमेशकुमार मल्ल सदस्य छन् । समितिमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामा पनि सदस्य छन् ।

समितिलाई नौबुँदे कार्यादेश दिइए पनि सभापति चयन हुन सकेको थिएन । नेताहरूका अनुसार रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीलाई सभापति बनाउने सहमति भएको छ ।

प्रतिक्रिया

ताजा समाचार