
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जिउज्यानको सुरक्षा माग गर्दै प्रहरीमा निवेदन दिएका छन् । उनको तर्फबाट छोरा सचिन्द्र जबराले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा निवेदन दिएका हुन् ।
उपत्यका प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलियाले जबराका छोराले शान्ति सुरक्षाको माग गर्दै निवेदन दिएको जानकारी दिए । उनका अनुसार जबराको घर आसपास प्रहरीले निगरानी बढाएको छ ।
‘शान्ति सुरक्षाका लागि निवेदन दिनुभएको छ । हामीले उहाँको घर आसपास निगरानी बढाएका छौँ,’ डीआईजी थपलियाले भने ।
‘सुरक्षा थ्रेट’ रहेको भन्दै प्रहरीले आइतबार बिहान करिब ३ बजे जबरालाई महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको थियो । उनलाई सोही दिन दिउँसो प्रहरीले घर फर्काएको थियो ।
प्रहरीको नियन्त्रणबाट घर फर्किएलगत्तै जबराको तर्फबाट सुरक्षा माग गर्दै प्रहरीमा निवेदन दिइएको हो ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित