
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष बयान दिएका छन्। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई भेट्न नदिएको विषयमा आयोगले उनलाई सोधपुछका लागि बोलाएको थियो।
आइतबार मध्यराति एसएसपी खड्काकै नेतृत्वमा गएको टोलीले राणालाई शयनकक्षबाटै नियन्त्रणमा लिएको थियो। आयोगसमक्ष बयान दिँदै एसएसपी खड्काले आफूले ‘आदेश पालना गरेको’ बताएका छन्।
आयोगसमक्ष उनले आफूले हरेक काम आदेशअनुसार गरेको बताएका हुन्। बयान दिएपछि उनी केही बेरअघि आयोगबाट बाहिरिएका छन्। आयोग स्रोतका अनुसार उनीमाथिको अनुसन्धान जारी रहेकाले हाल प्रारम्भिक चरणको बयान मात्र लिइएको हो।
आयोगमा कार्यरत उपसचिवस्तरकी एक अनुसन्धान अधिकृतले एसएसपी खड्कासँग बयान लिएकी थिइन्।
राणालाई शनिबार रातिदेखि आइतबार अपराह्नसम्म काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा नियन्त्रणमा राखिएको थियो। पूर्वसंवैधानिक पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली कार्यालय पुग्दा राणालाई भेट्न दिइएको थिएन।
‘पूर्वप्रधानन्यायाधीशलाई बिनाकारण पक्राउ गर्नु र आयोगले अनुगमन गर्न जाँदा सम्बन्धित व्यक्तिलाई भेट्न अनुमति नदिनु गम्भीर घटना हो। त्यसबारे अनुसन्धान जारी छ,’ आयोग स्रोतले भन्यो।
उक्त घटनाको अनुसन्धानका क्रममा आवश्यकताअनुसार अन्य व्यक्ति तथा निकायसँग पनि सोधपुछ हुन सक्ने स्रोतले जनाएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित