इन्जिनियर सांसदलाई प्रधानमन्त्री शाहको सुझाव– ‘आइडिया दिनुस्, देश बन्छ’

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सांसदहरूलाई उनीहरूको अभिव्यक्ति र विज्ञताका आधारमा तीन तहमा वर्गीकरण गरेका छन्।

बुधबार इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले सांसदहरूको वर्गीकरणबारे आफ्नो धारणा राखेका हुन्। उनले सांसदहरूलाई एभरेज, एभरेजभन्दा तल र एक्स्ट्रा अर्डिनरी गरी तीन तहमा वर्गीकरण गरेका थिए।

प्रधानमन्त्री शाहले इन्जिनियर सांसदहरूलाई ‘एक्स्ट्रा अर्डिनरी’ सांसदका रूपमा व्याख्या गर्दै उनीहरूले देश निर्माणका लागि नयाँ विचार र सिर्जनात्मक अवधारणा अघि सार्नुपर्ने बताए।

‘इन्जिनियर भनेको एक्स्ट्रा अर्डिनरी हो। एभरेज मान्छेहरू इभेन्टको कुरा गर्छन्। त्योभन्दा तलकोले मलाई यो गर, त्यो गर भन्छन्,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै एक सांसदले बताए, ‘एक्स्ट्रा अर्डिनरी भएकाले तपाईंहरूले आइडिया र क्रियटिभिटीको कुरा उठाउनुपर्छ। यो गरे देश बन्छ भनेर भन्नुपर्छ। तपाईंहरूको आइडियाले देश बन्छ।’

छलफलका क्रममा प्रधानमन्त्री शाहले औद्योगिकीकरणका लागि के गर्न सकिन्छ भन्ने विषयमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूलाई सुझाव र नयाँ अवधारणा दिन आग्रह गरे।

संसद्मा उठाइएका विषयमा सम्बन्धित मन्त्रालय, मन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग समन्वय गर्न सकिने बताउँदै उनले नयाँ विचार भएका सांसदलाई आफूले सहज रूपमा भेट्ने बताए।

‘केही आइडिया हुँदा प्रधानमन्त्री कार्यालयसँग सम्पर्क गर्न सकिन्छ। आइडिया हुनेहरूसँग सहजै भेट हुनेछ,’ उनले भने।

प्रधानमन्त्री शाहले सरकारले केही नयाँ विधेयक ल्याउने तयारी गरिरहेको जानकारी दिँदै त्यसमा सांसदहरूको सुझाव र सहयोग आवश्यक रहेको बताए।

‘अब सांसदहरूको नै विधेयकमा इनपुट रहन्छ। देखेको र भोगेको आधारमा कानुन लिएर आउँछौं। यसमा तपाईंहरूको साथ र सहयोग चाहिन्छ,’ उनले भने।

प्रतिक्रिया

ताजा समाचार