
काठमाडौं । मनाङस्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा बेपत्तामध्ये थप चार जनाको शव फेला परेको छ ।
बेपत्ताहरूको खोजीमा खटिएको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको टोलीले आज थप चार जनाको शव फेला पारेको जनाएको छ । पासाङकाजी शेर्पाको नेतृत्वमा रहेको अनुभवी पर्वतारोही तथा माउन्टेन गाइडको टोलीले खोजी तथा उद्धार कार्य जारी राखेको थियो ।
एसोसिएसनका अनुसार शेर्पाको नेतृत्वमा खटिएको टोलीले चार शव फेला पारेको हो । यससँगै हिमलुङ हिमपहिरोमा ज्यान गुमाउने नेपालीको संख्या ११ पुगेको छ ।
गत ९ असोजदेखि प्रतिकूल बनेको मौसमका कारण हिमलुङ हिमालमा हिमपहिरो गएको थियो । हिमलुङको आधार शिविरमा आएको हिमपहिरोमा कुल १६ जना बेपत्ता भएका थिए । तीमध्ये हालसम्म ११ जनाको शव फेला परेको छ भने अझै पाँच जना बेपत्ता छन् ।
बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित