संघीय निजामती सेवामा सूचना प्रविधि सेवा थप गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले संघीय निजामती सेवामा नयाँ सूचना प्रविधि सेवा थप गर्ने तयारी गरेको छ । संघीय संसद् सचिवालयमा पेस गरिएको विधेयकमा हाल कायम विभिन्न सेवासँगै सूचना प्रविधिलाई छुट्टै सेवाका रूपमा प्रस्ताव गरिएको हो ।

हाल पनि सूचना प्रविधिको क्षेत्रमा कार्यरत कर्मचारी निजामती सेवामा छन् । उनीहरू विभिन्न सेवाअन्तर्गत रहेकामा अब सूचना प्रविधिलाई छुट्टै सेवाका रूपमा व्यवस्था गर्न लागिएको हो ।

संघीय तहका मन्त्रालयदेखि सूचना प्रविधिमा आधारित सेवा प्रवाह गर्ने विभिन्न निकायमा सूचना प्रविधि क्षेत्रका कर्मचारी कार्यरत छन् । प्रस्तावित विधेयकमा उनीहरूको सेवासम्बन्धी छुट्टै व्यवस्था गर्न खोजिएको छ ।

हाल संघीय निजामती सेवामा नेपाल आर्थिक योजना तथा तथ्यांक, इन्जिनियरिङ, कृषि, न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण, वन, विविध र शिक्षा सेवा छन् । प्रस्तावित विधेयकमा यससँगै सूचना प्रविधि सेवालाई पनि थप गर्न लागिएको हो ।

तर कर्मचारीको वृत्तिविकासका लागि प्रस्ताव गरिएको ‘क्लस्टर’मा भने सूचना प्रविधि सेवा समावेश गरिएको छैन । सरकारले कर्मचारीको वृत्तिविकासका लागि पाँचवटा क्लस्टरको अवधारणा अघि सारेको छ ।

क्लस्टरको प्रयोजनका लागि इन्जिनियरिङ, कृषि तथा वन, न्याय, परराष्ट्र, प्रशासन र लेखापरीक्षण सेवामात्र समावेश गर्ने प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार