
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले १५औँ महाधिवेशनबाट पार्टीभित्रको गुटबन्दी, आन्तरिक फूट र भागबन्डाको राजनीति अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।
महाधिवेशनले तय गर्ने नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन अबको मुख्य दायित्व रहेको उनले बताएका छन्। केसीले वैचारिक पुनर्जागरणसहित नवीन र बदलिएको कांग्रेस निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
नेतृत्व चयनमा निष्ठावान् कार्यकर्ताको योगदान, जनप्रियता, योग्यता, संगठनप्रतिको प्रतिबद्धता र युवा सहभागितालाई आधार बनाउनुपर्ने उनको भनाइ छ। सर्वसम्मतिको अधिकतम प्रयास गर्नुपर्ने र सम्भव नभए स्वस्थ, निष्पक्ष तथा गुटमुक्त लोकतान्त्रिक प्रतिस्पर्धालाई स्वीकार गर्नुपर्ने उनले बताएका छन्।
‘लोकतन्त्रमा मत विभाजन हुन सक्छ, तर मन विभाजन हुनु हुँदैन,’ केसीले भनेका छन्, ‘प्रतिस्पर्धालाई कुनै पनि प्रकारको अवाञ्छित हस्तक्षेप, दबाब वा विचार लाद्ने प्रवृत्तिबाट मुक्त बनाइनुपर्छ।’
केसीले यस महाधिवेशनमा आफूले कुनै पनि पदमा उम्मेदवारी नदिएको स्पष्ट पारेका छन्। व्यक्तिगत पदभन्दा पार्टीको एकता, संस्थागत सुदृढीकरण र राष्ट्रिय एकतालाई प्राथमिकता दिने उनको भनाइ छ।
सैद्धान्तिक, वैचारिक र भावनात्मक एकताबाट मात्रै समृद्ध नेपाल निर्माण तथा राष्ट्रिय एकताको मार्ग प्रशस्त हुने उनले बताएका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित