
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सिफारिस गरेको छ।
खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा गरिएको अनुसन्धानको प्रतिवेदन सीआईबीले बुधबार सरकारी वकिलको कार्यालयमा बुझाएको हो। सीआईबीले अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई प्रतिवादी बनाउन सिफारिस गरेको सीआईबीका प्रवक्ता अनुपमशमशेर जबराले जानकारी दिए।
सीआईबीका अनुसार उनीहरूबाट ६६ लाख ५३ हजार रुपैयाँ अनियमितता भएको निष्कर्ष निकालिएको छ।
सीआईबीले गत असोज २ गते एन्फा मुख्यालयमा छापा मार्दै कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई पक्राउ गरेको थियो। उनीहरू पक्राउ परेपछि एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राई भने सम्पर्कविहीन रहेको बताइएको छ।
राष्ट्रिय हित र प्रतिष्ठाविपरीत हुने गरी होम गेम बिक्री, राष्ट्रिय खेलकुद परिषद्को निर्देशन अवज्ञा, अवैध भत्ता वितरण, महिला साफ गेममा होटलको दररेटमा कमिसन तथा भ्रष्टाचार, स्वीकृतिबिना वैदेशिक भ्रमण, अनुदान रकमको दुरुपयोग र अनावश्यक नियुक्तिलगायत विषयमा एन्फाविरुद्ध उजुरी परेको थियो।
त्यसैगरी, विभिन्न समयमा भएका टेन्डर प्रचलित कानूनबमोजिम नगरेको तथा विभिन्न प्रतियोगितामा मार्केटिङ, डिजिटल, ब्रोडकास्टिङ र टिकटिङ राइट दिँदा अनियमितता तथा भ्रष्टाचार गरेको आरोपसहित एन्फाभित्र भएको भनिएको अनियमितता, भ्रष्टाचार र पदको दुरुपयोगबारे छानबिन गरी कारबाही गर्न माग गर्दै उजुरी परेको थियो। सोही उजुरीका आधारमा सीआईबीले अनुसन्धान अघि बढाएको हो।
तेस्रो पक्षको हस्तक्षेप भएको आरोपमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले गत जुन २४ देखि एन्फालाई निलम्बन गरेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित