टेलिकमले सस्ता इन्टरनेट प्याकेज बन्द नगर्ने

काठमाडौँ । सुपथ मूल्य र कम स्पिडका प्याकेज बिक्री नगर्ने इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालको निर्णयसँगै नेपाली उपभोक्तामाझ इन्टरनेट शुल्क महँगिने हो कि भन्ने बहस सुरु भएको छ। सङ्घले गत सोमबारदेखि सस्ता इन्टरनेट प्याकेज उपलब्ध गराउन असमर्थ रहेको जनाएको छ।

मध्यपूर्वको तनावपछि बढेको इन्धनको मूल्य, फाइबरको मूल्यवृद्धि, उच्च मुद्रास्फीति र एआईको तीव्र विकासका कारण इलेक्ट्रोनिक चिपसेटको मूल्य बढेकाले सेवा प्रदायकको सञ्चालन खर्चसमेत धान्न नसक्ने अवस्था आएको भन्दै सङ्घले सुपथ मूल्यका प्याकेज बन्द गर्ने निर्णय गरेको हो।

सङ्घको निर्णयसँगै निजी इन्टरनेट सेवा प्रदायकले सस्ता प्याकेजको बिक्री बन्द भएको घोषणा गरेका छन्। इन्टरनेट दैनिक जनजीवनको अभिन्न हिस्सा बनिरहेका बेला सुपथ मूल्यका प्याकेज बन्द हुँदा न्यून आय भएका वर्ग इन्टरनेट सेवाबाट वञ्चित हुनुपर्ने हो कि भन्ने आशङ्का बढेको छ।

यही सन्दर्भमा सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले पनि सुपथ मूल्यका साना प्याकेज बन्द गर्न लागेको हो कि भन्ने विषयमा राससले टेलिकमका प्रवक्ता डा. कमल लामिछानेलाई जिज्ञासा राखेको थियो।

उहाँले टेलिकमले हाल बिक्री गरिरहेका प्याकेजलाई निरन्तरता दिने र तत्काल मूल्य बढाउने कुनै सोच नरहेको बताउनुभयो।

“टेलिकमले ग्राहकलाई जुन प्याकेज बिक्री गरिरहेको छ, त्यो निरन्तररूपमा चल्छ। अहिले मूल्य बढाउने सोच छैन। टेलिकमले ग्राहकलाई उपलब्ध गराएको प्याकेज निकै सर्वसुलभ दरको छ”, उहाँले भन्नुभयो।

अन्य सेवा प्रदायकको तुलनामा टेलिकमले सुपथ मूल्यमा वार्षिक र दुई वर्षको इन्टरनेट प्याकेज बिक्री गरिरहेको उहाँको दाबी छ। टेलिकमका अनुसार फाइबर इन्टरनेट प्याकेज खरिद गर्दा ग्राहकले मोबाइलमा दैनिक छ सय एमबीदेखि एक हजार एमबीसम्म डाटा निःशुल्क पाउँदै आएका छन्। एक महिने र तीन महिने प्याकेजसमेत सञ्चालनमा छन्।

टेलिकमले हाल उपलब्ध गराइरहेका फाइबर इन्टरनेट प्याकेजको विस्तृत विवरण आफ्नो वेबसाइटमा राखेको छ।

“अहिले उपभोक्तालाई इन्टरनेट ब्यान्डविथ जे–जति दिएका छौँ, त्योभन्दा बढी नै पाउनुहुन्छ, त्योभन्दा कम हुँदैन। बिलिङको पाटो पनि पारदर्शी छ”, प्रवक्ता लामिछानेले भन्नुभयो।

उहाँका अनुसार दुई वर्षको प्याकेज एकैपटक खरिद गर्दा एक वर्षको प्याकेजमा पाइने सुविधाको तुलनामा झन्डै १५ प्रतिशत सहुलियत उपलब्ध गराइएको छ।

हाल टेलिकमले घरायसी ग्राहकलाई एक वर्षका लागि ५० एमबिपिएसको इन्टरनेट आठ हजार चार सय ९९ रुपैयाँमा उपलब्ध गराउँदै आएको छ। दुई वर्षको सेवा एकैपटक लिँदा ग्राहकले १४ हजार नौ सय ९९ रुपैयाँ तिर्नुपर्छ। वार्षिक शुल्क एकैपटक भुक्तानी गर्दा दैनिक छ सय एमबी मोबाइल डाटा निःशुल्क पाइने कम्पनीले जनाएको छ।

त्यसैगरी ७५ एमबिपिएस इन्टरनेटका लागि वार्षिक १० हजार चार सय ९९ रुपैयाँ, एक सय एमबिपिएसका लागि ११ हजार चार सय ९९ रुपैयाँ, एक सय ५० एमबिपिएसका लागि १२ हजार नौ सय ९९ रुपैयाँ र दुई सय एमबिपिएसका लागि १६ हजार चार सय ९९ रुपैयाँ शुल्क तोकिएको छ।

गत साउन मसान्तसम्म टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकको सङ्ख्या चार लाख दुई हजार एक सय १० पुगेको छ।

टेलिकमले इन्टरनेट जडान तथा मर्मतसम्भारलाई थप व्यवस्थित बनाइएको जनाएको छ। प्रवक्ता लामिछानेका अनुसार इन्टरनेट जडान गर्न ग्राहक कार्यालयमै आउनुपर्ने छैन। ग्राहकले सिधैँ १९८ मा फोन गरेर सेवा माग गर्न सक्नेछन्।

“उपभोक्तालाई चुस्त सेवा दिन सार्वजनिक बिदा तथा चाडपर्वमा पनि काउन्टर खुला राखेका छौँ”, उहाँले भन्नुभयो।

हाल टेलिकमको फाइबर सेवा ७७ जिल्लाका झन्डै चार सय पालिका तथा पालिका केन्द्रमा पुगेको छ। कम्पनीले सेवा विस्तारलाई निरन्तरता दिइरहेको जनाएको छ।

“राष्ट्रिय आवश्यकताको हिसाबले लाभ र लागत नहेरी दुर्गम र अतिदुर्गम स्थानमा सेवा विस्तार गरिरहेका छौँ”, प्रवक्ता लामिछानेले भन्नुभयो, “फाइबर इन्टरनेट नपुगेका स्थानमा ‘ब्रोडब्यान्ड इन्टरनेट’ सेवा उपलब्ध गराइरहेका छौँ।”

फाइबर इन्टरनेटसँगै मोबाइल डेटा र विभिन्न छुटको हिसाब गर्दा उपभोक्तालाई इन्टरनेटमा हुने लगानी अत्यन्त न्यून पर्ने कम्पनीको दाबी छ।

टेलिकमको फाइबरबाट एकैपटक उच्च गतिको इन्टरनेट, रोजेको च्यानलसहितको टेलिभिजन, टेलिफोन सेवा र मोबाइल डेटा प्रयोग गर्न सकिन्छ। एउटै तारबाट आवश्यकता अनुसार चारवटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई ‘थ्री प्लस वान’ नाम दिएको छ।

अब टेलिभिजन हेर्न ‘भर्चुअल सेट–टप बक्स’

टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको एनटीटिभी सेवा स्मार्ट टिभी प्रयोगकर्ताले ‘सेट–टप बक्स’बिना नै प्रयोग गर्न सक्ने सुविधा ल्याएको छ।

कम्पनीले यही असोज १५ गतेदेखि हाललाई एन्ड्रोइड टिभीका लागि भर्चुअल सेट–टप बक्स उपलब्ध गराएको हो।

ग्राहकले आफ्नो एन्ड्रोइडमा आधारित स्मार्ट टिभीमा यो सुविधा प्रयोग गर्न सक्नेछन्। त्यसका लागि गुगल प्लेस्टोरमा ‘स्मार्ट एनटीटिभी’ सर्च गरी एप इन्स्टल गर्नुपर्नेछ।

आगामी दिनमा सबै प्रकारका स्मार्ट टिभीमा प्रयोग गर्न मिल्ने भर्चुअल सेट–टप बक्स सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रवक्ता लामिछानेले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त सेवा थप ग्राहकमैत्री हुने गरी विकास गरिएको हो।

नयाँ प्याकेज खरिद गर्दा भर्चुअल सेट–टप बक्ससहितको प्याकेज लिएमा एक हजार रुपैयाँ छुट दिने व्यवस्था गरिएको छ।

टेलिकमले एनटी फाइबरमार्फत एउटै तारबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

ताजा समाचार