शुक्रबार देशभर वर्षाको जोखिम, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं । देशभर शुक्रबार वर्षाको गतिविधि बढ्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती र सुदूरपश्चिमका पहाडी भूभाग तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। जोखिमलाई ध्यानमा राख्दै विभागले कोशी र बागमतीका पहाडी भूभाग तथा सुदूरपश्चिमका केही स्थानमा ‘पहेँलो रङ’को चेतावनी जारी गरेको छ।

मौसमविद् रोजन लामिछानेका अनुसार शुक्रबार रातिदेखि पश्चिमी क्षेत्रबाट मौसम क्रमिक रूपमा सुधार हुँदै जानेछ। शनिबार भने अधिकांश भूभागमा वर्षाको गतिविधि निकै कम हुने र तराई क्षेत्रमा वर्षाको सम्भावना न्यून रहनेछ।

शनिबार रातिदेखि देशभरको मौसम थप सुधार हुने अनुमान गरिएको छ। यद्यपि कोशी र बागमतीका उच्च हिमाली भूभागमा हल्का हिमपात हुन सक्ने विभागले जनाएको छ।

विभागले शुक्रबार मौसम प्रतिकूल हुने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार