
काठमाडौं । काठमाडौंको जडीबुटीमा गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको लुटेरा समूहका नाइके आयन माझी २७ वटा डाँकाचोरीका मुद्दामा संलग्न रहेको पाइएको छ।
बुधबार राति काठमाडौं–३२ स्थित जडीबुटी पुलमुनि नियन्त्रणमा लिन खोज्दा प्रहरी सहायक हवल्दार डम्बरबहादुर श्रेष्ठलाई खुकुरी प्रहार गर्न खोजेपछि प्रहरीले आयनमाथि गोली चलाएको थियो। उनको दायाँ खुट्टाको घुँडामुनि गोली लागेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार आयन सिन्धुलीको मरिण गाउँपालिका–५ का हुन्। उनीविरुद्ध २०७९ देखि विभिन्न प्रहरी युनिटमा २७ वटा कसुर दर्ता भएको अनुसन्धानबाट खुलेको छ। उनी यसअघि २०७७ मा डाँकाचोरी मुद्दामा पक्राउ परी जेल बसेर छुटेका थिए।
प्रहरीले आयनसँगै राकेश थिङ र मनोजकुमार मोक्तानलाई पनि पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीहरूले मोटरसाइकलमा सवार भएर पैदल यात्रुको सुनको सिक्री लुट्ने तथा विभिन्न स्थानमा डाँकाचोरी गर्ने गरेका थिए। उक्त समूहले हालसम्म १५ वटा मोटरसाइकल चोरी गरेको पनि खुलेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा आयन समूहको बौद्ध र स्वयम्भू क्षेत्रमा भएका लुटपाटका घटनासँग समेत संलग्नता देखिएको प्रहरीले जनाएको छ। असोज १४ गते बौद्ध गेटमा एक व्यक्तिबाट २ लाख रुपैयाँ लुटिएपछि प्रहरीले उनीहरूको खोजी तीव्र बनाएको थियो।
प्रहरीका अनुसार जेनजी आन्दोलनका क्रममा लुटिएको हतियार खरिद गरी ठूलो डकैती गर्ने योजनासमेत उनीहरूले बनाएका थिए। समूह पक्राउ परेपछि उक्त योजना विफल भएको एसएसपी घिमिरेले बताए।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित