
काठमाडौं । आसन्न चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडा अस्वाभाविक रूपमा बढाइएको गुनासो बढेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले वायुसेवा कम्पनीहरूसँग छलफल गरेको छ। छलफलमा स्वीकृत अधिकतम भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न वायुसेवा कम्पनीहरू सहमत भएका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको सक्रियतामा क्यानले आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई छलफलका लागि बोलाएको थियो।
छलफलमा यात्रुलाई मर्का नपर्ने गरी सरकारले स्वीकृत गरेको अधिकतम भाडादरभन्दा सस्तोमा टिकट बिक्री तथा वितरण गर्ने सहमति भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।
त्यस्तै, टिकटको भाडादरबारे सर्वसाधारणलाई स्पष्ट जानकारी गराउन सम्बन्धित वायुसेवा कम्पनीले आफ्नो आधिकारिक बिक्री वितरणका माध्यम (वेबसाइट तथा एप) मा भाडादर अनिवार्य रूपमा प्रकाशन गर्नुपर्ने सहमति भएको छ।
चाडपर्वका बेला घर फर्किने यात्रुको चापलाई देखाउँदै वायुसेवा कम्पनीहरूले अत्यधिक भाडा असुल्न थालेको भन्दै गुनासो बढेपछि सरकारले यस विषयमा चासो देखाएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।
नेपालमा आन्तरिक हवाई सेवाको न्यूनतमदेखि अधिकतम भाडादर तत्कालीन पर्यटनमन्त्रीस्तरीय निर्णयअनुसार २०७२ साल मंसिर २७ गते निर्धारण गरिएको थियो। सोही स्वीकृत भाडादरलाई आधार मानेर चाडपर्वका बेला यात्रुलाई सहुलियत दरमा सेवा उपलब्ध गराउन वायुसेवा कम्पनीहरू सहमत भएका हुन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित