कार्यविधिविपरीत खटाइएका पीएसओ ७ दिनभित्र फिर्ता गर्न गृहको निर्देशन

काठमाडौँ । सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षाका नाममा कार्यविधिविपरीत खटाइएका व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ) लाई फिर्ता बोलाउने भएको छ। गृह मन्त्रालयले आज सूचना जारी गर्दै त्यस्ता सुरक्षाकर्मीलाई तत्काल फिर्ता बोलाउन निर्देशन दिएको हो।

मन्त्रालयले सुरक्षाकर्मीलाई सुरक्षा जिम्मेवारीबाहेक व्यक्तिगत तथा घरायसी काममा लगाइएको पाइएमा उजुरी गर्न सर्वसाधारण तथा सम्बन्धित सुरक्षाकर्मीलाई आग्रह गरेको छ।

‘अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१’ मा बहालवाला तथा पूर्व कर्मचारी एवं सुरक्षाकर्मीले पाउने व्यक्तिगत सुरक्षाकर्मीसम्बन्धी स्पष्ट व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ। तर, पछिल्लो समय कार्यविधिविपरीत सुरक्षाकर्मीलाई व्यक्तिगत तथा घरायसी काममा प्रयोग गरिएको भन्दै व्यापक गुनासो आएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सम्बन्धित सुरक्षा निकायलाई कार्यविधिविपरीत खटाइएका वा राखिएका सबै सुरक्षाकर्मीलाई सात दिनभित्र अनिवार्य रूपमा उनीहरूको दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन निर्देशन दिएको छ।

त्यस्तै, निर्देशन तथा कार्यविधिविपरीत सुरक्षाकर्मी खटाएको पाइएमा सम्बन्धित खटाउने अधिकृत तथा पदाधिकारीमाथि कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।

प्रतिक्रिया

ताजा समाचार