प्रदर्शनमा सहभागी हुन दिल्ली पुगेका युट्युबर ध्रुव राठी प्रहरीको नियन्त्रणमा

काठमाडौँ । ककरोच जनता पार्टीले प्रदर्शनका लागि आह्वान गरेका बेला चर्चित युट्युबर ध्रुव राठीलाई प्रहरीले शनिबार बिहान नियन्त्रणमा लिएको छ।

बीबीसीका संवाददाता दिलनवाज पाशाका अनुसार, राठीका एक निकट सहयोगी र गुरुग्राम प्रहरीले उहाँलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्। उहाँलाई गुरुग्रामको सेक्टर–५६ बाट नियन्त्रणमा लिइएको बताइएको छ।

यसअघि शुक्रबार साँझ राठीले सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गर्नुभएको थियो। भिडियोमा उहाँ दिल्लीको इन्डिया गेटअगाडि घुमिरहेको देखिनुभएको थियो।

भिडियोमा राठीले आफू दिल्ली आइपुगेको बताउँदै प्रधानमन्त्रीले ५० भन्दा बढी मेट्रो स्टेसन बन्द गरेको तथा विभिन्न रेल र बस सेवा रद्द गरिएको दाबी गर्नुभएको थियो। प्रदर्शनका कारण दिल्लीलाई नै बन्दाबन्दीको अवस्थामा पुर्‍याइएको उहाँको भनाइ थियो।

राठीले सत्तारूढ पक्षका सूचना प्रविधिसम्बन्धी प्रचार समूहले प्रदर्शनमा मानिसहरूको सहभागिता नहुने दाबी गरिरहेको उल्लेख गर्दै त्यसो भए यति धेरै प्रतिबन्ध किन लगाइएको हो भन्ने प्रश्न गर्नुभएको थियो। उहाँले सरकार प्रदर्शनबाट डराएको आरोप लगाउँदै जनतामा जागरण आएको दाबीसमेत गर्नुभएको थियो।

यसैबीच, प्रदर्शनमा सहभागी हुन दिल्लीका विभिन्न क्षेत्रमा भेला भइरहेका अन्य प्रदर्शनकारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

ताजा समाचार