
मध्य अमेरिकी देश पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पका कारण करिब ४६ लाख मानिसले मध्यमदेखि तीव्र झट्का महसुस गरेका छन्।
स्थानीय समयअनुसार शुक्रबार दिउँसो करिब ३ बजे गएको भूकम्पको केन्द्रबिन्दु दक्षिण-मध्य पनामाको पितालोझा अरिबा सहरबाट करिब १० किलोमिटर टाढा र जमिनको सतहबाट १२ किलोमिटर गहिराइमा रहेको थियो।
भूकम्पको केन्द्रबिन्दु कम गहिराइमा रहेकाले सतहमा यसको प्रभाव बढी परेको बीबीसीले जनाएको छ। भूकम्पबाट पेनोनोमे र सोनालगायतका सहरमा भवन तथा अन्य संरचनामा क्षति पुगेको छ।
लोकप्रिय पर्यटकीय क्षेत्र प्लाया भेनाओमा बहुमन्जिला भवन भत्किँदा तल पार्क गरिएका थुप्रै कार पुरिएका छन्। प्रारम्भिक विवरणअनुसार भूकम्पका कारण केही मानिस सामान्य घाइते भएका छन्। तर, अहिलेसम्म मानवीय क्षति वा मानिस बेपत्ता भएको आधिकारिक पुष्टि भएको छैन।
नागरिक सुरक्षा निकायका अनुसार विभिन्न घर, सडक, होटल, सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान र गिर्जाघरमा संरचनात्मक क्षति पुगेको छ। राजधानी पनामा सिटीमा पनि भवनबाट सिसा र भग्नावशेष खस्दा सामान्य क्षति भएको छ। भूकम्पपछि त्रसित बासिन्दा भवनबाट बाहिर निस्केर सडक तथा नजिकका पार्कमा पुगेका थिए।
भूकम्पको केन्द्रबिन्दुबाट करिब २०० किलोमिटर टाढा रहेको राजधानी पनामा सिटीमा समेत कडा झट्का महसुस गरिएको थियो। यद्यपि, एटलान्टिक र प्रशान्त महासागरलाई जोड्ने महत्त्वपूर्ण जलमार्ग पनामा नहरमा कुनै प्रभाव नपरेको नहर व्यवस्थापन प्राधिकरणले जनाएको छ।
भूकम्पलगत्तै पनामाका छिमेकी ११ देशका लागि सुनामीको चेतावनी जारी गरिएको थियो। तर, पछि अमेरिकी सुनामी चेतावनी प्रणालीले सुनामीको खतरा नरहेको पुष्टि गरेपछि चेतावनी फिर्ता लिइएको थियो।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित