
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा प्रदर्शनमा सहभागी हुन पुगेका ककरोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजित दीपके, आशुतोष रांका र सौरव दासलाई विमानभित्रैबाट नियन्त्रणमा लिइएको छ। युट्युबर ध्रुव राठीलाई पनि गुरुग्रामस्थित निवासबाट नियन्त्रणमा लिइएको समाचारमा उल्लेख छ।
मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र विशेष गहन पुनरावलोकन (एसआईआर) प्रक्रिया रोक्न माग गर्दै जन्तरमन्तरमा आयोजना हुने प्रदर्शनमा सहभागी हुन उनीहरू दिल्ली पुगेका थिए।
प्रदर्शनमा सहभागी हुन जन्तरमन्तरतर्फ गइरहेका सीजेपीका अन्य ६०० समर्थकलाई पनि राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको जनाइएको छ।
पार्टीकी कानुनी मामिला प्रमुख रत्ना सिंहले प्रहरी आफ्नो घर पुगेको र आफू सवार कारलाई घेरा हालेको भिडियो सार्वजनिक गरेकी छन्। उनका अनुसार प्रहरीले माथिबाट आदेश आएको भन्दै उनलाई घरमै बस्न भनेको थियो। उक्त समयमा कारमा आफू सहित तीन महिला रहेको उनले बताएकी छन्।
प्रदर्शनलाई लक्षित गर्दै दिल्लीमा करिब ४३ हजार प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरीले विभिन्न सडकमा अवरोध राख्नुका साथै केही मेट्रो स्टेसनका प्रवेशद्वार बन्द गरेको छ। नयाँ दिल्ली क्षेत्रमा सभा तथा प्रदर्शन रोक्न शुक्रबार भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ लागू गरिएको थियो।
यसअघि ५० भन्दा बढी मेट्रो स्टेसन बन्द गर्ने र दुई प्रमुख रेल स्टेसनमा सेवा रोक्ने आदेश दिइए पनि भारतको सर्वोच्च अदालतले यातायात सेवा पूर्ण रूपमा बन्द नगर्न निर्देशन दिएको थियो।
सीजेपीले आयोजना गर्न लागेको प्रदर्शनलाई यसअघिको ‘ककरोच आन्दोलन’को दोस्रो चरणका रूपमा हेरिएको छ। परीक्षामा अनियमितताको विरोधमा भएको पहिलो आन्दोलनपछि भारतका शिक्षामन्त्रीले राजीनामा दिएका थिए।
राहुल गान्धी नेतृत्वको भारतीय राष्ट्रिय कांग्रेससहित विपक्षी दलहरूले पनि मुख्य निर्वाचन आयुक्त कुमारको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका छन्। विपक्षी दल तथा आलोचकहरूले मतदाता नामावलीबाट करोडौँ मतदाताको नाम हटाएर भारतीय जनता पार्टी (भाजपा)लाई फाइदा पुर्याइएको आरोप लगाउँदै आएका छन्। भाजपाले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित