बुढीगण्डकीमा भीषण बाढी आउनुको कारण पहिरोले खोला थुनेर बनेको बाँध फुट्नु हुनसक्ने : मौसम विभाग

काठमाडौं । गोरखाको बुढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीको कारण सामान्य वर्षा नभई पहिरोले खोला थुनिएर बनेको अस्थायी बाँध फुट्नु हुनसक्ने मौसम विज्ञान विभागले प्रारम्भिक निष्कर्ष निकालेको छ।

विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठका अनुसार पछिल्ला केही दिनमा गोरखाका विभिन्न वर्षामापन केन्द्रमा रेकर्ड भएको वर्षाको मात्रा ठूलो बाढी निम्त्याउन पर्याप्त देखिँदैन। तर, वर्षाका कारण कमजोर भूभागमा पहिरो खसेर खोला थुनिएको र पछि थुनिएको भाग फुट्दा एक्कासि ठूलो बाढी आएको हुनसक्ने विभागको प्रारम्भिक विश्लेषण छ।

विभागका अनुसार गोरखाको बारपाक, नामरुङ र सेतीबेसीलगायतका वर्षामापन केन्द्रमा पछिल्ला दिनमा सामान्यदेखि मध्यम स्तरको वर्षा मापन गरिएको छ। अक्टोबर ६ मा बारपाकमा २१ मिलिमिटर वर्षा भएको थियो भने अक्टोबर १० मा विभिन्न केन्द्रमा ५ देखि २४ मिलिमिटरसम्म वर्षा रेकर्ड गरिएको थियो। त्यस्तै, अक्टोबर ७ मा घ्याच्चुङ तथा अक्टोबर ८ र ९ मा बारपाक क्षेत्रमा पनि छोटो अवधिमा वर्षा भएको तथ्याङ्कले देखाउँछ।

महानिर्देशक श्रेष्ठले पछिल्लो २४ घण्टामा उल्लेख्य वर्षा नभए पनि अघिल्ला दिनको वर्षाले पहिरो निम्त्याएको हुनसक्ने बताइन्। उनका अनुसार पहिरोका कारण खोला थुनिएर पानी जम्मा भएको र पछि अस्थायी रूपमा बनेको बाँध फुट्दा ठूलो बाढी आएको हुनसक्ने सम्भावनाबारे अध्ययन भइरहेको छ।

यसैगरी, हालैको आँधीका कारण उच्च हिमाली क्षेत्रमा भएको हिमपात तथा हिमनदीसँग सम्बन्धित घटनाले पनि बाढीमा भूमिका खेलेको हुनसक्ने सम्भावनालाई विभागले नकारेको छैन। बाढीको वास्तविक कारण यकिन गर्न थप अध्ययन आवश्यक रहेको श्रेष्ठले बताइन्।

उनका अनुसार हालको मौसम पूर्वानुमानले उक्त क्षेत्रमा छिटपुट वर्षाको सम्भावना मात्र देखाएको छ। तत्काल ठूलो वर्षा गराउने प्रणाली सक्रिय नरहे पनि भूगोलको संवेदनशीलता र पहिरोको जोखिमलाई ध्यानमा राख्दै बाढी प्रभावित तथा कमजोर भूभागमा निरन्तर निगरानी र सतर्कता आवश्यक छ।

विभागका अनुसार गोरखा क्षेत्रमा ठूलो वर्षा नभए पनि जमिन पहिले नै कमजोर अवस्थामा रहेकाले सामान्य वर्षाले समेत पहिरो निम्त्याउन सक्छ। त्यसैले तत्काल ठूलो वर्षाको सम्भावना नरहे पनि बुढीगण्डकी नदी र आसपासका जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउनुपर्ने देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार