
काठमाडौँ । भारतको बिहारस्थित वैशाली जिल्लामा गंगा नदीमा डुङ्गा पल्टिँदा १३ जनाको मृत्यु भएको छ। गएराति राघोपुर थाना क्षेत्रमा भएको दुर्घटनामा मृत्यु हुनेमध्ये अधिकांश बालबालिका रहेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार भोजमा सहभागी हुन जाँदै गरेका २५ जनाभन्दा बढी व्यक्ति डुङ्गामा सवार थिए। उनीहरू रामपुर श्यामचन्द पञ्चायतअन्तर्गत भगतान टोलमा रहेको माता महारानी स्थाननजिक सिंहेश्वर रायको घरमा आयोजित भोजमा सहभागी हुन जाँदै थिए।
वैशालीकी जिल्ला अधिकारी वर्षा सिंहका अनुसार दुर्घटनाबाट सात जनाको उद्धार गरिएको छ। उनीहरूलाई उपचारका लागि नालन्दा मेडिकल कलेज तथा अस्पताल पठाइएको छ। डुङ्गामा सवार सबै बालबालिकाको उमेर १५ वर्ष वा सोभन्दा कम रहेको उनले बताएकी छन्।
दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनापछि बिहार सरकारले मृतकका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित