
काठमाडौँ । काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने भएको छ ।
सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई मध्यनजर गर्दै आकाशे पुल निर्माण गरिएको हो ।
पुल निर्माण भएसँगै पैदलयात्रुले सुरक्षित रूपमा सडक पार गर्न सजिलो हुनुका साथै सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ
सडक डिभिजन कार्यालय, काठमाडौँका अनुसार पुल निर्माणको भौतिक प्रगति अन्तिम चरणमा पुगेकाले केही दिनभित्रै सर्वसाधारणका लागि खुला गर्ने तयारी भइरहेको बताइन्छ ।
विसं २०८२ फागुन २१ गते निर्माण सम्झौता भई पुल निर्माण सुरु भएको थियो । पुल यसै हप्ता भित्रै पैदलयात्रुका लागि सञ्चालनमा ल्याउने तयारी गरिएको सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख सुबोध देवकोटाले बताउनुभयो ।
उक्त पुल निर्माणका लागि रु दुई करोड ५२ लाख ४५ हजार ९५३ लागत निर्धारण गरिएको थियो । पुल निर्माणको जिम्मेवारी हेटौँडास्थित हाइटेक इन्जिनियरिङ वक्र्स प्रालिले पाएको सडक डिभिजन कार्यालय काठमाडौँले जनाएको छ ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित