

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन हुन लागेको तेस्रो संस्करणको ‘नेपाल टी–ट्वान्टी लिग’ को सम्पूर्ण तयारी पूरा भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक मान्यता प्राप्त यस प्रतियोगिता शुरु हुनु अघिल्लो दिन आईतवार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा क्यानले तयारी ९५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको औपचारिक जानकारी दिएको हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित विशेष पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले प्रतियोगिता सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेको स्पष्ट पार्नुभयो ।
चाडपर्वका कारण केही प्रक्रियागत काममा सामान्य ढिलाइ भएपनि प्रतियोगिता तोकिएकै कार्यतालिकाअनुसार भव्य रूपमा सञ्चालन हुने क्यानको भनाइ छ ।
खड्काकाअनुसार यो प्रतियोगिता आईसीसीबाट आधिकारिक स्वीकृति प्राप्त भएकाले यसको प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय स्तरमै पर्नेछ । यसै सन्दर्भमा क्यानले विशेषगरी विदेशी तथा स्वदेशी खेलाडीहरूको सहभागिताबारे आधिकारिक पुष्टि नभई भ्रामक समाचार संप्रेषण नगर्न सञ्चारमाध्यमहरूलाई आग्रह गरेको छ ।
उहाँले भन्नुभयो, ‘भोलिदेखि शुरु हुन गइरहेको सिद्धार्थ बैंक नेपाल टी–२० लिग, वान एक्स ब्याटको सहकार्यमा, प्रतियोगिताको तयारी र गतिविधिबारे जानकारी गराउन आज हामी यहाँ उपस्थित भएका छौँ । प्रतियोगिताको करिब ९५ देखि ९९ प्रतिशत तयारी पूरा भइसकेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट स्वीकृति प्राप्त भएसँगै प्रतियोगिताको जिम्मेवारी पनि बढेको छ । त्यसैले खेलाडीको सहभागिता तथा अन्य समाचार प्रकाशन गर्नुअघि नेपाल क्रिकेट संघ वा सम्बन्धित टोलीसँग आधिकारिक जानकारी पुष्टि गरिदिन सञ्चारकर्मीहरूलाई अनुरोध गर्दछौँ । यो प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्, सम्बन्धित मन्त्रालय, सुरक्षा निकाय, स्वयंसेवक, टोली सञ्चालक, सरोकारवाला तथा सञ्चारमाध्यमबाट प्राप्त सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । आगामी दिनमा पनि यहाँहरूको साथ र सहयोग निरन्तर रहने अपेक्षा गरेका छौँ ।’
सम्बन्धित टिम व्यवस्थापन र क्यानको आधिकारिक धारणा नलिई खेलाडीबारे अपुष्ट विवरण आउँदा अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश जाने भन्दै संघले सचेत गराएको हो ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित