ओलीलाई प्रचण्डको खुला प्रस्ताव : देशको आवश्यकता बन्यो, अब मिलौँ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसहित सबै कम्युनिष्ट घटकलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।

उमा भुजेल नेतृत्वको नेकपासँगको एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिष्ट एकता अब देशको आवश्यकता बनिसकेको बताए । उनले आजको एकता घोषणा कम्युनिष्ट एकताको नयाँ कडी भएको उल्लेख गर्दै यो अन्तिम नभएको स्पष्ट पारे ।

‘विगतमा थुप्रै साना–ठूला कम्युनिष्ट घटकलाई एकताबद्ध गर्ने पहल गरेका थियौँ । त्यसैको नयाँ कडीका रूपमा आज यो एकता घोषणा भइरहेको छ । यो अन्तिम होइन । हामीले अरू थुप्रैलाई पनि एकताबद्ध गर्न बाँकी छ,’ उनले भने ।

एमालेसहित विगतमा माओवादी र एमालेका विभिन्न धारामा रहेका समूहलाई समेत एकताबद्ध गर्ने जिम्मेवारी आफूहरूको भएको प्रचण्डको भनाइ थियो ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसहित मोहनविक्रम सिंह, मोहन वैद्य र नेत्रविक्रम चन्दलगायतका कम्युनिष्ट नेताहरूलाई पनि एकतामा आउन आग्रह गरे ।

‘माधवजीले केपी ओलीको नाम लिँदा अलिकति के हुने हो भन्नुभयो । मलाई चाहिँ त्यस्तो लागेको छैन । केपी ओली, मोहनविक्रमजी, मोहन वैद्य, नेत्रविक्रम चन्दलगायत सबै बाँकी कम्युनिष्ट समूहहरूले देशको वस्तुगत आवश्यकता हेरेर एकताबद्ध हुन जरुरी छ,’ उनले भने ।

सबैले आफ्नो सोचाइ, बुझाइ र भावनालाई फराकिलो बनाएर एकताका लागि अघि बढ्नुपर्नेमा जोड दिँदै प्रचण्डले विगतमा एमालेसँग भएको पार्टी एकतालाई समेत स्मरण गरे ।

प्रतिक्रिया

ताजा समाचार