डेविड मिलर नेपाल आइपुगे, कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौं। कर्णाली याक्समा अनुबन्ध भएका दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर नेपाल आइपुगेका छन्।

बुधबार बिहान मिलर तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रालिका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए।

३७ वर्षीय बायाँ हाते मध्यक्रमका ब्याटर मिलरले दक्षिण अफ्रिकी राष्ट्रिय टोलीसँगै विश्वका चर्चित फ्रेन्चाइज क्रिकेट लिगहरूमा आफ्नो बलियो छाप छाडेका छन्।

उनले भारतको इन्डियन प्रिमियर लिग (आइपिएल), अस्ट्रेलियाको बिग बास लिग, पाकिस्तान सुपर लिग (पिएसएल) लगायत विभिन्न फ्रेन्चाइज प्रतियोगिता खेलिसकेका छन्। आइपिएलमा उनले दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किङ्स इलेभेन पञ्जाब र गुजरात टाइटन्सबाट खेलेका थिए। सन् २०२२ मा गुजरात टाइटन्सले ऐतिहासिक रूपमा आइपिएल उपाधि जित्दा मिलर टोलीका प्रमुख खेलाडी थिए।

कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले मिलरको आगमनले नेपालको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

मिलरले दक्षिण अफ्रिकाका लागि १४० टी–२० अन्तर्राष्ट्रिय खेलमा दुई हजार ८०४ रन बनाएका छन्। यसक्रममा उनले दुई शतक र नौ अर्धशतक प्रहार गरेका छन्। उनका दुवै टी–२० अन्तर्राष्ट्रिय शतक भारत र बंगलादेशविरुद्ध बनेका थिए।

त्यस्तै, समग्र टी–२० क्रिकेटमा उनले ५८४ खेल खेल्दै १२ हजार ४३५ रन बनाएका छन्। यसक्रममा चार शतक र ५३ अर्धशतक प्रहार गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार