

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बिहान भएको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध र आपसी चासोका विषयमा छलफल भएको बताइएको छ।
मिस्री नेतृत्वको भारतीय प्रतिनिधिमण्डल बिहान ११ बजे प्रधानमन्त्री शाहसँग भेटवार्ताका लागि सिंहदरबार पुगेको थियो।
प्रतिनिधिमण्डलमा भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव एवं चीन, नेपाल र भुटान हेर्ने नर्थ डिभिजन प्रमुख मन्नु महावर, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, दूतावासका डीसीएम डा. राकेश पाण्डे, प्रशासन शाखा प्रमुख अविनाश कुमार सिंह तथा राजनीतिक शाखा प्रमुख गीतान्जली ब्राण्डन सहभागी थिए।
प्रधानमन्त्री शाहसँग करिब आधा घण्टा भेटवार्ता गरेपछि भारतीय टोली सिंहदरबारबाट सिधै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न पुगेको थियो।
टोली मध्याह्न ठीक १२ बजे बूढानीलकण्ठस्थित इटालीटारमा रहेको लामिछानेको निवास पुगेको बताइएको छ। प्रधानमन्त्रीसँगको भेटलगत्तै भारतीय टोली रवि निवास पुगेपछि राजनीतिक वृत्तमा यसलाई चासोका साथ हेरिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित