अडियो प्रकरणमा गगन थापाको जवाफ : ‘एक सुको पनि आर्थिक लेनदेन भएको छैन’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हालै सार्वजनिक भएको विवादास्पद अडियो प्रकरणमा आफ्नो नाम जोडिएकोप्रति आपत्ति जनाउँदै आफू कुनै पनि गलत वा अनैतिक गतिविधिमा संलग्न नरहेको स्पष्ट पारेका छन् ।

प्रहरी हिरासतमा रहेका ‘फिक्सर’ इनम सापकोटाको भनिएको अडियोमा आफ्नो नाम जोडिएको विषयमा आफू अनभिज्ञ रहेको थापाको दाबी छ ।

पार्टीको आधिकारिकता र आन्तरिक रूपान्तरणका लागि भइरहेको संघर्ष कार्यकर्ताहरूको विद्रोह भएको उल्लेख गर्दै उनले यसमा कुनै आर्थिक लेनदेन नभएको जिकिर गरे ।

‘विद्रोह गर्नेले परिणामको चिन्ता गर्छ ? करोडको कुरा गर्छन् ! पार्टीको आधिकारिकताको राजनीतिक–कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन र अनुचित काम भएको छैन,’ उनले भने ।

यस विषयमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टी कार्यालयबाटै स्पष्ट पारिसकेको उल्लेख गर्दै थापाले कांग्रेस सबै प्रकारका निष्पक्ष छानबिनका लागि तयार रहेको बताए ।

‘अडियो कहाँ, कसले, कहिले र किन बोल्यो वा बोलाइयो, त्यो अनुसन्धानको विषय हो । अनुसन्धान निष्पक्ष हुनुपर्छ, दूधको दूध पानीको पानी छुटिन्छ,’ उनले भने ।

अडियो सार्वजनिक भएपछि डराएर विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई भेटेको भन्ने चर्चाको समेत उनले खण्डन गरे ।

‘म तर्सिने जिनिस नै होइन, तर्सिने बानी नै छैन,’ थापाले भने ।

प्रतिक्रिया

ताजा समाचार