१८ करोडको विवादले कांग्रेसमा खैलाबैला, गगनको बचाउमा नेताहरू मैदानमा

काठमाडौं । बिचौलिया इनम सापकोटाको बयान भन्दै सार्वजनिक भएको अडिओ र कांग्रेसको आधिकारिकता विवादसँग जोडिएको १८ करोड रुपैयाँ लेनदेनको आरोपले नेपाली कांग्रेसभित्र राजनीतिक तरंग पैदा गरेको छ। उक्त प्रकरणमा सभापति गगन थापाको नाम जोडिएपछि कांग्रेसले सरकारमाथि राजनीतिक प्रतिशोध साँध्न खोजेको आरोप लगाउँदै सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ।

सापकोटाको सार्वजनिक अडिओ र बयानलाई आधार बनाएर सरकारले सभापति थापालाई पक्राउ गर्ने तयारी गरेको कांग्रेस नेताहरूको दाबी छ। यही विषयमा छलफल गर्न कांग्रेसले बिहीबार दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाएको छ। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका गतिविधिबारे छलफल हुने सहमहामन्त्री रामहरि खतिवडाले जानकारी दिए।

खतिवडाले सभापति थापालाई पक्राउ गर्ने कुनै आधार नरहेको दाबी गर्दै कांग्रेसको आवाज कमजोर बनाउन सरकारले पक्राउको अफवाह फैलाएको आरोप लगाए। पञ्चायत र राजतन्त्रविरुद्ध संघर्ष गरेर आएको पार्टी सरकारको धम्कीबाट नतर्सिने उनको भनाइ छ।

महामन्त्री उदयशमशेर राणाले पनि सभापति थापामाथि प्रतिशोधपूर्ण कदम चालिए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन्। ललितपुरको बज्रबाराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले कुनै गलत कदम चाले त्यसको दृढतापूर्वक प्रतिरोध गर्ने बताए।

सापकोटाको बयानलाई आधार बनाएर थापालाई पक्राउ गर्ने प्रयास भइरहेको आरोप लगाउँदै राणाले पार्टीका नेता तथा कार्यकर्तालाई प्रतिरोधका लागि तयार रहनसमेत आह्वान गरेका छन्।

सहमहामन्त्री अजयबाबु शिवाकोटीले आफू र सभापति थापालाई पक्राउ गर्ने प्रयास भइरहेको दाबी गरेका छन्। यही प्रकरणमा उनलाई साइबर ब्युरोले बोलाएको छ। उनले प्रधानमन्त्री र उनको टिमले आफूहरूलाई निशाना बनाएको आरोप लगाउँदै त्यस्तो प्रयासको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।

उनले पार्टीको आधिकारिकता विवादसँग जोडिएको १८ करोड रुपैयाँको विषयलाई लिएर प्रधानमन्त्री र प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनले आफूहरूलाई निशाना बनाउन नाटक मञ्चन गरेको आरोपसमेत लगाए। इनम सापकोटा प्रधानमन्त्री बालेन शाहलाई चुनाव जिताउन खटिएका रणनीतिकार तथा अनुसन्धानकर्ता भएको उनको दाबी छ।

छानबिनका लागि कांग्रेस तयार

कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले १८ करोड रुपैयाँ प्रकरणमा पार्टीमाथि उठेका सबै प्रश्नको सामना गर्न र जुनसुकै प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन्।

सार्वजनिक भएका अडिओ, बयान तथा आरोपहरू निराधार र नियोजित रहेको कांग्रेसको धारणा रहेको उल्लेख गर्दै उनले घटनाको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय अनुसन्धान गर्न माग गरेका छन्।

शर्माले बिचौलिया सापकोटाको मोबाइल प्रहरीको नियन्त्रणमा पुगेपछि प्रधानमन्त्रीका सल्लाहकारसम्म पुगेको विषयमा प्रश्न उठाएका छन्। अनुसन्धानका क्रममा मोबाइलमा रहेका प्रमाण तथा संवादमाथि अनधिकृत पहुँच र छेडछाड भएको आशंका गर्दै उनले त्यसको जवाफ सरकारले दिनुपर्ने बताएका छन्।

उनले भने, ‘एकजना बिचौलियाको मोबाइल प्रहरीले कब्जा गरिसके पछाडि प्रधानमन्त्रीका सल्लाहकारमा पुगेको भनेर तपाईँहरूले समाचार लेख्नुभएको छ। किन पुग्यो? यो अवधिमा त्यहाँ के भयो? त्यहाँ कुन त्यस्तो तथ्य मेटाउनु थियो?’

कांग्रेसले प्रधानमन्त्री कार्यालयको दुरुपयोग गरी प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको संलग्नता र निर्देशनमा फोन नियन्त्रणमा लिने, प्रमाण नष्ट गर्ने तथा संवाद गर्ने गतिविधि भएको आरोप लगाएको छ। यद्यपि यी आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ।

सरकारविरुद्ध राजनीतिक र कानुनी प्रतिवादको तयारी

कांग्रेस महामन्त्री प्रदीप पौडेलले पछिल्ला दिनमा सरकार स्वेच्छाचारी र निरंकुश बन्दै गएको आरोप लगाएका छन्। पत्रकारमाथिको धरपकड, अपारदर्शी निर्णय र संवैधानिक निकायमाथिको नियन्त्रणले सरकारको अलोकतान्त्रिक चरित्र उजागर गरेको उनको भनाइ छ।

पार्टीलाई बदनाम गर्ने प्रयास, प्रेस नियन्त्रण र राज्यका निकायमाथिको हस्तक्षेपविरुद्ध कांग्रेस राजनीतिक तथा कानुनी दुवै मोर्चाबाट सशक्त रूपमा उभिने उनले बताएका छन्।

कांग्रेसले पार्टीको वैधानिकता र नेतृत्वविरुद्ध लगाइएका आरोपलाई कपोलकल्पित तथा नियोजित भन्दै कानुनी प्रतिवादका लागि उपसभापति पुष्पा भुसालको नेतृत्वमा परामर्श प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। त्यस्तै, संसदीय दलका तर्फबाट नेता भीष्मराज आङ्देम्बेको नेतृत्वमा संसद्मा आवश्यक पहलकदमी लिने तयारी गरेको छ।

यसअघि कांग्रेस पदाधिकारी बैठकले सरकारका गतिविधिबारे ६ बुँदे धारणा सार्वजनिक गर्दै सरकारको कदमविरुद्ध संघर्ष गर्ने चेतावनी दिएको थियो।

बालेन र गगनबीच सामाजिक सञ्जालमै सवालजवाफ

इनम सापकोटा प्रकरणले प्रधानमन्त्री बालेन शाह र कांग्रेस सभापति गगन थापाबीचको राजनीतिक टकरावलाई समेत सतहमा ल्याएको छ। दुवै नेताबीच सामाजिक सञ्जालमार्फत सवालजवाफसमेत भएको थियो।

आइतबार प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा सही समय आएपछि सबैको गलत समय आउने भन्दै एक–दुई जना उम्किन्छु भनेर सपना नदेख्न चेतावनी दिएका थिए।

त्यसको जवाफमा सोमबार सभापति थापाले आफूलाई तर्साउने धेरै आए पनि तर्सिने बानी नपरेको बताएका थिए। उनले लेखेका थिए, ‘अहिले ठीक १८ः०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन।’

इनम सापकोटा प्रकरण, १८ करोड रुपैयाँको आरोप र कांग्रेस सभापति थापामाथि पक्राउको सम्भावनाबारे उठेका दाबीले अहिले सत्ता र प्रमुख प्रतिपक्षबीचको राजनीतिक तनाव थप चर्किएको छ। कांग्रेसले निष्पक्ष छानबिनको माग गर्दै सरकारको कदमको प्रतिवाद गर्ने तयारी गरिरहँदा यस प्रकरणले आगामी दिनमा थप राजनीतिक मोड लिने देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार