आईजीपी हटाउने सरकारको निर्णयप्रति कांग्रेस संसदीय दलका नेता आङ्देम्बेको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कार्यकाल सकिन १७ महिना बाँकी छँदै प्रहरी महानिरीक्षक (आईजीपी) लाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

उनले अनेक तानाबाना र षड्यन्त्रको जालो बुनेर प्रहरी प्रमुख हटाउनु सुशासन नभई शक्ति प्रदर्शन भएको टिप्पणी गरेका छन् ।

आङ्देम्बेले वर्तमान सरकारको प्राथमिकता १७ महिना कार्यकाल बाँकी रहेका प्रहरी प्रमुखलाई हटाउनेमा केन्द्रित भएको भन्दै सरकारको प्राथमिकतामाथि प्रश्न उठाएका छन् ।

उनले भनेका छन्, ‘वर्तमान सरकारको प्राथमिकता १७ महिना कार्यकाल बाँकी भएका प्रहरी प्रमुख (आईजीपी) लाई हटाउनेमा केन्द्रित भयो। के अहिले देशको राष्ट्रिय आवश्यकता नै आईजीपी परिवर्तन गर्नु हो? भोटेकोशी र बूढीगण्डकी बाढीले नागरिकहरू पीडामा छन्। विस्थापित सुकुम्वासीको बेहाल छ। महँगीले जनजीवन आक्रान्त छ। देश गम्भीर सङ्कटतिर फस्दैछ।’

प्रहरी प्रमुखलाई कुन तथ्य र प्रमाणका आधारमा हटाइएको हो भन्नेबारे सरकारले जवाफ दिनुपर्ने उनको भनाइ छ ।

उनले सरकारका प्रवक्ताहरूको अभिव्यक्तिमा समेत विरोधाभास देखिएको भन्दै सरकार कसको निर्देशनमा चलिरहेको छ भन्ने प्रश्न गरेका छन् ।

उनले भनेका छन्, ‘उसो त सरकारका प्रवक्ता पार्टीको निर्देशनमा हटाइएको भन्छन्। तर, रास्वपाकै प्रवक्ता पार्टीको निर्देशन नभएको बताउँछन्। आखिर सरकार कसको निर्देशनमा चलिरहेको छ? सिंहदरबार र बालुवाटारमा कस्तो रमिता चलिरहेको हो?’

अनुसन्धानका क्रममा प्रहरीले बरामद गरेको बिचौलियाको मोबाइल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको घरमा पुगेको भन्ने विषयलाई पनि आङ्देम्बेले गम्भीर रूपमा उठाएका छन् । उक्त मोबाइल त्यहाँ कसरी पुग्यो र त्यसमा रहेको के सामग्री मेटाउन खोजिएको थियो भन्ने प्रश्न उनले गरेका छन् ।

‘अनुसन्धानका लागि बरामद गरिएको मोबाइल त्यहाँ किन पुग्यो? मोबाइलमा भएको के मेटाउनु थियो?’ उनले प्रश्न गरेका छन् ।

जनताले दिएको मत सत्ता र शक्तिको दुरुपयोग गर्न तथा प्रहरी प्रशासनलाई नियन्त्रणमा राख्नका लागि नभएको उनको भनाइ छ ।

‘जनताले ठूलो आशा र अपेक्षासहित वर्तमान सरकारलाई मत दिएका हुन्। त्यो मत सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न र जनताको जीवन बदल्नका लागि हो। सत्ता शक्तिको दुरुपयोग गर्न र प्रहरी प्रशासनलाई आफ्नो नियन्त्रणमा राख्न होइन,’ उनले भनेका छन् ।

उनले अनेक तानाबाना र षड्यन्त्रमार्फत आईजीपी हटाउने सरकारको कदम गलत भएको दोहोर्‍याउँदै यसलाई सुशासन नभई शक्ति प्रदर्शनको संज्ञा दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार