
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले निजी क्षेत्रका उद्योगी–व्यवसायीमाथि सरकारले धरपकड गर्ने वा थुन्ने सूची बनाएको भन्ने हल्लामा कुनै सत्यता नभएको बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उद्योगी–व्यवसायीलाई अफवाहको पछि नलाग्न आग्रह गरे।
उनले भने, “निजी क्षेत्रका व्यवसायीलाई थुन्ने वा धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन। तपाईंहरू हल्लाको पछि नपर्नुस्, तपाईंहरू हाम्रो साझेदार हो।”
अर्थमन्त्री वाग्लेले सरकारले अघि सारेको १०० बिलियन डलरको अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने पनि बताए।
कार्यक्रममा उनले सरकारका पाँच प्रमुख प्राथमिकताबारे पनि प्रस्ट पारे। उनका अनुसार पहिलो प्राथमिकता सुशासन, दोस्रो अर्थतन्त्रको पुनरुत्थान, तेस्रो आन्तरिक तथा बाह्य कनेक्टिभिटी विस्तार, चौथो सामाजिक क्षेत्रमा लगानी र पाँचौँ पर्यटन, संस्कृति तथा इतिहासमार्फत नेपालको सौम्य शक्ति विस्तार हो।
नेपालको अर्थतन्त्र अहिले महत्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै उनले सकारात्मक परिवर्तनका लागि आगामी बजेटसम्म धैर्य गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरे।
राजनीतिक स्थायित्व र इमानदार नेतृत्वले विकास सम्भव हुने उदाहरण प्रस्तुत गर्दै उनले भारतको प्रगतिलाई स्मरण गरे। उनका अनुसार सन् २०१४/१५ मा नरेन्द्र मोदी नेतृत्वमा आउँदा भारतको अर्थतन्त्रका केही सूचक नेपालकै वर्तमान अवस्थासँग मिल्दोजुल्दो थिए, तर पछिल्लो दशकमा भारतले उल्लेखनीय प्रगति हासिल गरेको छ।
उनले भने, “हामी पनि अब त्यही बाटोमा अघि बढ्नुपर्ने बेला आएको छ।”
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित