१.५४ प्रतिशतले बढ्यो जीडीपी, विद्युत् तथा ग्यास क्षेत्रमा सबैभन्दा उच्च वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो त्रैमासिकको तुलनामा १.५४ प्रतिशतले बढेको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमानअनुसार, अन्तर्राष्ट्रिय मुद्रा कोषको अरिमा विधिबाट तयार पारिएको मौसमी प्रभाव समायोजित तथ्याङ्कले माघदेखि चैतसम्मको तेस्रो त्रैमासिकको तुलनामा चौथो त्रैमासिकमा जीडीपी बढेको देखाएको हो।

कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको चौथो त्रैमासिकमा आधारभूत मूल्यमा जीडीपी वृद्धिदर ४ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको छ।

आर्थिक वर्ष २०६७/६८ लाई आधार वर्ष मानेर स्थिर मूल्यमा गरिएको अनुमानअनुसार अर्थतन्त्रका अधिकांश क्षेत्र सकारात्मक दिशामा देखिएका छन्। विद्युत् उत्पादन, प्रसारण तथा वितरण, बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन र ऋण प्रवाह, निर्जीवन बीमा प्रिमियम तथा आवास र भोजन सेवाको विस्तारले आर्थिक वृद्धिमा योगदान पुर्‍याएको कार्यालयले जनाएको छ।

समीक्षा अवधिमा अध्ययन गरिएका १८ औद्योगिक क्षेत्रमध्ये १७ वटामा सकारात्मक वृद्धि देखिएको छ भने सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा मात्रै ऋणात्मक वृद्धि भएको छ।

विद्युत् तथा ग्यास क्षेत्रमा सबैभन्दा उच्च वृद्धि

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा विद्युत् तथा ग्यास क्षेत्रमा सबैभन्दा बढी २४.३६ प्रतिशत वृद्धि भएको छ।

यसैगरी, वित्तीय तथा बीमा क्रियाकलापमा ९.०७ प्रतिशत, आवास तथा भोजन सेवामा ७.८४ प्रतिशत र सूचना तथा सञ्चार क्षेत्रमा ७.६६ प्रतिशत वृद्धि भएको छ। यातायात तथा भण्डारण क्षेत्रमा ६.८१ प्रतिशत र प्रशासनिक तथा सहयोगी सेवामा ५.५५ प्रतिशत वृद्धि देखिएको छ।

अर्थतन्त्रमा ठूलो हिस्सा ओगट्ने थोक तथा खुद्रा व्यापार क्षेत्रमा ५.९७ प्रतिशत वृद्धि भएको छ। स्वास्थ्य तथा सामाजिक कार्यमा ४.७० प्रतिशत, अन्य सेवामा ३.८२ प्रतिशत, खानी तथा उत्खननमा ३.३४ प्रतिशत, व्यावसायिक, वैज्ञानिक तथा प्राविधिक क्रियाकलापमा ३.१९ प्रतिशत, घरजग्गा कारोबारमा २.६८ प्रतिशत र निर्माण क्षेत्रमा २.३८ प्रतिशत वृद्धि भएको छ।

नेपालको अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान रहेको कृषि, वन तथा मत्स्य क्षेत्रमा भने १.३५ प्रतिशत मात्रै वृद्धि भएको छ। औद्योगिक उत्पादनमा १.४४ प्रतिशत, खानेपानी, ढल तथा फोहोर व्यवस्थापनमा १.४३ प्रतिशत र शिक्षा क्षेत्रमा १.३२ प्रतिशत वृद्धि देखिएको छ। सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा भने ०.१२ प्रतिशत ऋणात्मक वृद्धि मापन गरिएको छ।

त्रैमासिक तुलनामा पनि अधिकांश क्षेत्रको वृद्धि

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको तुलनामा चौथो त्रैमासिकको मौसमी प्रभाव समायोजित तथ्याङ्क हेर्दा पनि १७ औद्योगिक क्षेत्रमा सकारात्मक वृद्धि देखिएको छ।

यस अवधिमा आवास तथा भोजन सेवामा ६.०५ प्रतिशत, विद्युत् तथा ग्यासमा ३.७६ प्रतिशत, खानी तथा उत्खननमा ३.२२ प्रतिशत, शिक्षा क्षेत्रमा ३.०७ प्रतिशत र थोक तथा खुद्रा व्यापारमा २.९० प्रतिशत वृद्धि भएको छ।

त्यस्तै, सार्वजनिक प्रशासन तथा रक्षामा २.२१ प्रतिशत, वित्तीय तथा बीमा क्रियाकलापमा २.१० प्रतिशत र कृषि, वन तथा मत्स्य क्षेत्रमा १.०८ प्रतिशत वृद्धि भएको छ। तर, तेस्रो त्रैमासिकको तुलनामा चौथो त्रैमासिकमा औद्योगिक उत्पादन क्षेत्रमा भने ०.४८ प्रतिशतको गिरावट आएको छ।

सरकारी खर्चमा आएको कमी तथा आन्तरिक औद्योगिक र कृषि उत्पादनमा भएको सामान्य वृद्धिका कारण समग्र आर्थिक वृद्धिदर अपेक्षाकृत सीमित रहेको कार्यालयको अनुमान छ।

प्रतिक्रिया

ताजा समाचार