रश्मि रिजाल मृत्यु प्रकरण: सिसिटिभी विश्लेषणमा के देखियो?

काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिका–९ स्थित चुनीदेवी बालुवा प्रशोधन केन्द्रमा साउन ९ गते ४५ वर्षीया रश्मि रिजाल मृत अवस्थामा भेटिएकी थिइन्। प्रारम्भिक प्रहरी अनुसन्धानले उनले आफैँमाथि पेट्रोल छर्केर आत्मदाह गरेको निष्कर्ष निकालेको छ।

प्रहरीका अनुसार सिसिटिभी फुटेज विश्लेषण गर्दा घटनास्थलमा अन्य कुनै व्यक्तिको उपस्थिति देखिएको छैन। साथै, घटनापछि गाडीको ढोका भित्रबाट लक गरिएको पनि फेला परेको छ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–ताँदी स्थायी घर भई मनमैजु बस्दै आएकी रिजाल साउन ८ गते बिहान करिब ७ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी थिइन्। भोलिपल्ट उनी चलाउने बीएई ०४१० नम्बरको विद्युतीय कारभित्र जलेको अवस्थामा शव फेला परेको थियो। उनी कारको पछिल्लो सिटमा थिइन् भने गाडीको चाबी चालक सिटमै भेटिएको प्रहरीले जनाएको छ।

रिजाल नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा मर्चेन्ट हेडका रूपमा कार्यरत थिइन्। उनी कार्यालय नपुगेपछि सोही दिन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित तीन जना कर्मचारी मनमैजुस्थित उनको घर पुगेका थिए।

रश्मिका परिवारले ती कर्मचारी घरमा आएर सोधपुछ गरेको विषय प्रहरीलाई जानकारी गराएका छन्। घटना अनुसन्धानका लागि प्रहरीमा दर्ता गरिएको जाहेरीमा पनि उक्त विवरण उल्लेख गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार परिवारले जाहेरी दिएर शव बुझिसकेको छ। उनले भने, “जाहेरीमा उल्लेख गरिएका सबै विषयमा आवश्यक सोधपुछ र अनुसन्धान भइरहेको छ।”

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार कर्मचारीहरूले “रश्मि किन कार्यालयमा नआएको?” भन्ने विषयमा परिवारसँग जानकारी लिएका थिए। उक्त घटनाबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरी अनुसन्धानअनुसार रिजाल घरबाट सिधै घटनास्थल पुगेकी थिइन्। उनी पेट्रोल साथमा लिएर गएको, गाडीको एयर कन्डिसन चलाएपछि बाहिर शरीरमा पेट्रोल छर्केको र त्यसपछि कारभित्र प्रवेश गरी आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

गाडीभित्र जलेको अवस्थामा तीन वटा लाइटर बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सिसिटिभी फुटेज, घटनास्थलको अवस्था तथा अन्य प्रारम्भिक प्रमाणहरूले आगो उनले आफैँ लगाएको देखाउँछन्। यद्यपि घटनासँग सम्बन्धित सबै पक्षबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार