
दोलखा — रोल्वालिङ हिमशृंखलाअन्तर्गतको यलुङ री हिमालको आधार शिविरमा ५ जनाको शव फेला परेको छ। ती शव गत वर्ष कात्तिक १७ गते यलुङ री आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका पर्वतारोहीको हुन सक्ने जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताए।
लामाका अनुसार हिउँ पग्लिएपछि बिहीबार आधार शिविर क्षेत्रमा शव देखिएको हो। स्थानीयले खबर गरेपछि मौसम खुलेसँगै शुक्रबार हेलिकप्टरमार्फत प्रहरी टोली आधार शिविर पुगेको थियो। तर, मौसम खराब भएपछि शव ल्याउन नसकी प्रहरी टोली फर्किएको उनले बताए।
फेला परेका शवको पहिचान भने हुन सकेको छैन। गत वर्षको हिमपहिरोमा बेपत्ता भएका पर्वतारोहीकै शव हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
गत कात्तिक १७ गते यलुङ री आरोहणका क्रममा हिमपहिरोमा परी ५ विदेशी र २ नेपालीसहित ७ जना प्रभावित भएका थिए। नेपाली पथप्रदर्शक सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ का मेरे कार्की र दोलखाको गौरीशंकर गाउँपालिका–९ का पदम तामाङको मृत्यु भएको थियो। उनीहरूको शव यसअघि नै फेला परेको थियो।
हिमपहिरोमा परी इटलीका २, क्यानडाका १, फ्रान्सका १ र जर्मनीका १ पर्वतारोही बेपत्ता भएका थिए। अहिले फेला परेका ५ शव उनीहरूकै हुन सक्ने प्रहरीको भनाइ छ।
प्रहरी नायब उपरीक्षक लामाले मौसम अनुकूल भएपछि हेलिकप्टरमार्फत सबै शव आधार शिविरबाट ल्याइने जानकारी दिए।
समुद्री सतहबाट करिब ५ हजार ६ सय ३० मिटर उचाइमा रहेको यलुङ री पिक रोल्वालिङ उपत्यकामा अवस्थित छ। आरोहणका लागि तुलनात्मक रूपमा सहज हिमालका रूपमा चिनिने यलुङ रीमा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्वतारोहीको आकर्षण बढ्दै गएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित