
हेटौँडा — २४ वर्षदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगमा फेरि कपडा बुन्ने लुम (तान) सञ्चालनमा आएको छ। नेपाली सेनाको प्राविधिक सहयोगमा उद्योगका पुराना मेसिन मर्मत गरी शनिबार प्रारम्भिक परीक्षण उत्पादन सफलतापूर्वक गरिएको हो।
सरकारले उद्योगको मर्मतसम्भार तथा पुनः सञ्चालनको जिम्मेवारी नेपाली सेनालाई दिएपछि सैनिक सामग्री उत्पादन निर्देशनालयका प्राविधिक टोली उद्योगमा खटिएको थियो। करिब ४० जना प्राविधिक तथा विभिन्न दर्जाका सैनिकले पछिल्लो ४० दिनदेखि उद्योग परिसर सरसफाइ, विद्युत् प्रणाली तथा मेसिन मर्मतको काम गर्दै आएका थिए।
पुराना मेसिन तथा लुम सञ्चालनमा आएपछि लामो समयदेखि सुनसान रहेको उद्योग परिसरमा फेरि कपडा बुन्ने तानको ‘खट्खट्’ आवाज सुनिन थालेको छ।
उत्पादन निर्देशनालयका एक सैनिक अधिकृतका अनुसार अहिले गरिएको उत्पादन प्रारम्भिक परीक्षण मात्रै हो। परीक्षण सफल भएकाले उद्योग पुनः सञ्चालन गर्न सकिने सम्भावना बढेको उनले बताए।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीले सरकारले दिएको दुई महिनाको समयसीमाभित्रै प्रारम्भिक परीक्षण उत्पादन सुरु भएको बताए। उनका अनुसार परीक्षण सफल भएपछि उद्योगलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकिने संकेत देखिएको छ।
सरकारले गत असार १८ गते हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि प्रक्रिया अघि बढाइएको थियो। मन्त्रालयले चालु आर्थिक वर्षभित्रै उद्योग सञ्चालनमा ल्याउने तयारी गरिरहेको जनाएको छ।
तत्कालका लागि पुराना मेसिन मर्मत गरी उत्पादन परीक्षण गर्न ३३ लाख रुपैयाँ बजेट माग गरिएकोमा ३० लाख रुपैयाँ उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।
यद्यपि, दीर्घकालीन रूपमा उद्योग सञ्चालन गर्न भने पुराना मेसिनले मात्रै सम्भव नहुने प्राविधिकहरूको निष्कर्ष छ। नयाँ मेसिनरी खरिद, संरचनागत सुधार तथा थप लगानी आवश्यक पर्ने बताइएको छ।
नेपाली सेनाले गरेको विस्तृत सम्भाव्यता अध्ययनअनुसार हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि प्रारम्भिक रूपमा करिब १ अर्ब ९३ करोड रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको छ। उद्योग सञ्चालनका लागि वार्षिक करिब ७८ करोड रुपैयाँ खर्च हुने र पुनः सञ्चालन भएको करिब नौ वर्षपछि लगानी प्रतिस्थापन गरी नाफामा जान सकिने अध्ययनको निष्कर्ष छ।
सरकारले रुग्ण सरकारी उद्योगलाई पुनः सञ्चालन गर्ने नीतिअनुसार हेटौँडा कपडा उद्योगलाई प्राथमिकतामा राखेको जनाएको छ। उद्योगसँगै बुटवल धागो कारखाना र कपास खेतीलाई समेत अघि बढाउने सरकारको योजना छ।
हेटौँडा कपडा उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आए स्वदेशी कपडा उत्पादन बढ्नुका साथै आयात घटाउन र कपडा उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउने दिशामा योगदान पुग्ने अपेक्षा गरिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित