आयल निगमको सूचनाप्रति होटल व्यवसायी महासंघको कडा आपत्ति, आन्दोलन गर्ने चेतावनी

काठमाडौं । होटल व्यवसायी महासंघ नेपालले नेपाल आयल निगमले बिहीबार जारी गरेको ‘अत्यन्त जरुरी सूचना’प्रति गम्भीर आपत्ति जनाएको छ ।

महासंघका अध्यक्ष टीआर भण्डारी (शंकर) ले शुक्रबार विज्ञप्ति जारी गर्दै होटल तथा आतिथ्य व्यवसायलाई आशंकाको दृष्टिले नभई राज्यको आर्थिक साझेदारका रूपमा व्यवहार गर्नुपर्ने बताएका छन् ।

निगमले केही होटल, रेस्टुरेन्ट तथा पार्टी प्यालेसमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात रहेको भन्दै अनावश्यक मौज्दात नराख्न र मौज्दात रहेको भए डिपोमार्फत सर्वसाधारणलाई बिक्री–वितरण गर्न आग्रह गरेको थियो ।

महासंघले भने व्यवसायको प्रकृति, आकार र दैनिक खपतको वास्तविकता नबुझी व्यावसायिक प्रयोजनका लागि राखिएको ग्यासलाई अनावश्यक सञ्चिति वा कालोबजारीसँग जोडेर हेर्नु स्वीकार्य नभएको जनाएको छ ।

महासंघ कालोबजारी, कृत्रिम अभाव वा गैरकानुनी गतिविधिको पक्षमा नरहेको भन्दै कानूनविपरीत कार्य गर्ने जोकोहीमाथि प्रमाणका आधारमा कारबाही हुनुपर्ने अध्यक्ष भण्डारीले बताए । तर, केही व्यवसायी वा घटनालाई आधार बनाएर समग्र होटल तथा आतिथ्य क्षेत्रलाई शंकाको दृष्टिले हेर्ने र व्यवसायीलाई आतंकित बनाउने कार्यप्रति महासंघको कडा असहमति रहेको उनले बताए ।

महासंघका महासचिव राजेश महोत्राले व्यवसायीको हकहित, सम्मान र अस्तित्वको संरक्षणका लागि आवश्यक परे शान्तिपूर्ण आन्दोलनका कार्यक्रम अघि बढाउनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए ।

यसअघि आयल निगमले बजार अनुगमनका क्रममा कतिपय होटल, रेस्टुरेन्ट तथा पार्टी प्यालेसमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखिएको पाइएको भन्दै त्यस्तो मौज्दात नराख्न आग्रह गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार