
काठमाडौँ । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन्। अधिकांश बैंकले साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने पाँच बैंकले ब्याजदर घटाएका छन्।
भदौका लागि १५ वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्। पाँच बैंकले भने साउनको तुलनामा ब्याजदर घटाएका हुन्। बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ४.१३ प्रतिशतमा झरेको छ। यो साउनको औसत ब्याजदरभन्दा ०.०३१५ प्रतिशत बिन्दुले कम हो।
ब्याजदर घटाउने बैंकमध्ये नेपाल बैंकले ४.१५ प्रतिशत ब्याजदर कायम गरेको छ। त्यस्तै, सिटिजन्स बैंकले ३.८५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.८ प्रतिशत तथा कुमारी बैंक र सिद्धार्थ बैंकले समान ३.७६ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।
अर्कोतर्फ, साउनकै ब्याजदरलाई निरन्तरता दिने बैंकमध्ये नबिल बैंक र प्रभु बैंकले सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याजदर कायम गरेका छन्। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबी बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकले ४.५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन्।
कृषि विकास बैंकको ब्याजदर ४.१५ प्रतिशत, नेपाल एसबीआई बैंकको ४.१० प्रतिशत र एभरेस्ट बैंकको ४.०५ प्रतिशत रहेको छ। हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकले ४ प्रतिशत ब्याजदर कायम गरेका छन्।
त्यस्तै, एनआईसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आईएमई बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपमा ४ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन्।
बैंकहरूले निक्षेपको ब्याजदरमा ठूलो परिवर्तन नगरेसँगै भदौ महिनामा पनि वाणिज्य बैंकहरूबीच व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा सामान्य अन्तर मात्रै देखिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित