
काठमाडौं । सरकारले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल तथा विभिन्न एप वा वेबसाइटमार्फत व्यापार (ई–कमर्स) गर्ने व्यवसायीलाई अनिवार्य रूपमा विभागमा सूचीकृत हुन निर्देशन दिएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरुरी सूचना जारी गर्दै प्रचलित कानुनबमोजिम सूचीकृत नभई व्यवसाय सञ्चालन गरेको पाइएमा कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको हो।
विभागका अनुसार वेबसाइट, मोबाइल एप, सफ्टवेयर, इन्टरनेट, इन्ट्रानेट वा सामाजिक सञ्जालको ‘मार्केटप्लेस’ प्रयोग गरी वस्तु वा सेवाको कारोबार गर्ने सबै व्यवसायी ई–कमर्सको परिभाषाभित्र पर्छन्।
यसमा वस्तु बिक्री गर्ने व्यवसायी मात्र नभई विद्युत्, खानेपानी, टेलिफोन, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, परामर्श, ढुवानी, पर्यटन, मनोरञ्जन, यातायात, बैंकिङ, बिमा, कानुनी तथा इन्जिनियरिङलगायत सेवा प्रदायकसमेत समेटिएका छन्।
डिजिटल भुक्तानी तथा अनलाइन माध्यमबाट हुने कारोबारमा उपभोक्तालाई भ्रममा पार्ने, ठगी गर्ने तथा गुणस्तरहीन वस्तु वा सेवा बिक्री–वितरण गर्ने गुनासो बढ्दै गएको विभागले जनाएको छ।
विभागले सूचनाको बेवास्ता गरी सूचीकृत नभएका वा गैरकानुनी विद्युतीय प्लेटफर्ममार्फत व्यवसाय सञ्चालन गरेको पाइएमा ई–कमर्स ऐन, २०८१ तथा अन्य प्रचलित कानुनबमोजिम कडा कानुनी कारबाही गरिने जनाएको छ।
उपभोक्तालाई समेत खरिद गर्दा विभागमा सूचीकृत भएका आधिकारिक पोर्टल तथा प्लेटफर्मबाट मात्र वस्तु वा सेवा लिन विभागले आग्रह गरेको छ।फेसबुक, टिकटकबाट व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित