सर्भरमा प्राविधिक समस्या, नेप्सेको आजको कारोबार स्थगित

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सोमबारको नियमित शेयर कारोबार स्थगित भएको छ। ब्रोकर कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टर डाटा हब प्रालिमा प्राविधिक समस्या देखिएपछि कारोबार सञ्चालन हुन नसकेको हो।

नेप्सेका अनुसार असोज ४ गते बिहानैदेखि डाटा हबको सर्भरमा प्राविधिक समस्या उत्पन्न भएको थियो। समस्या समाधानका लागि निरन्तर प्रयास भइरहे पनि सोमबारसम्म पूर्ण रूपमा समाधान हुन सकेको छैन।

जटिल परिस्थितिका बाबजुद जबरजस्ती कारोबार सञ्चालन गर्दा नेप्सेको मुख्य कारोबार प्रणालीमा समेत गम्भीर क्षति पुग्न सक्ने जोखिम देखिएपछि कारोबार स्थगित गर्ने निर्णय गरिएको नेप्सेले जनाएको छ।

यसैबीच, प्राविधिक जोखिमलाई ध्यानमा राख्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालले पनि सोमबारको नियमित कारोबार सत्र स्थगित गर्न नेप्सेसमक्ष लिखित निवेदन दिएको थियो।

ब्रोकर एसोसिएसनको निवेदन तथा प्राविधिक जोखिमलाई ध्यानमा राख्दै नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१(१) बमोजिम सोमबारको नियमित कारोबार स्थगित गर्ने निर्णय गरेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार