
काठमाडौं । भारतबाट खाना पकाउने एलपी ग्यास बोकेका बुलेट काठमाडौं आउन थालेका छन् । अविरल वर्षाका कारण चार दिनदेखि पूर्ण रूपमा अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएसँगै काठमाडौं उपत्यकामा ग्यासको आपूर्ति सहज हुने भएको हो ।
गत असोज ८ गते रातिदेखि मौसम प्रतिकूलता र सडक अवरोधका कारण रोकिएको ग्यास आपूर्ति सोमबारदेखि पुनः सुरु भएको छ ।
काठमाडौं उपत्यका र आसपासका क्षेत्रका लागि एलपी ग्यास बोकेका बुलेटहरू पृथ्वी राजमार्ग हुँदै आउने गर्छन् । मुख्य राजमार्ग नै चार दिनसम्म अवरुद्ध भएपछि ग्यासका बुलेट काठमाडौं आउन सकेका थिएनन् ।
राजमार्ग सञ्चालनमा आएसँगै रोकिएका ग्यास बुलेटहरू गन्तव्यतर्फ अघि बढेका छन् । नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार बाटो खुलेसँगै सोमबार मात्रै १०५ भन्दा बढी ग्यास बुलेट काठमाडौं आउँदै छन् । साँझसम्म यो संख्या थप बढ्ने निगमले जनाएको छ ।
ठाकुरका अनुसार काठमाडौं भित्रिएका ग्यास बुलेटबाट मंगलबारदेखि बोटलिङ प्लान्टमा ग्यास रिफिलिङको काम तीव्र रूपमा अघि बढाइनेछ ।
ग्यास भरिएका सिलिन्डर बजारमा पठाएर नियमित वितरण गरिने निगमले जनाएको छ । राजमार्ग खुलेर ग्यासका बुलेट नियमित आउन थालेसँगै बजारमा देखिएको ग्यास अभावसमेत क्रमशः हट्दै जाने अपेक्षा गरिएको छ ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित