एआईजी वंशीराज दाहाल निलम्बित

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई निलम्बन गरेको छ। सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको आरोपमा सशस्त्र प्रहरी बल, नेपालबाट कारबाहीका लागि सिफारिस प्राप्त भएपछि मन्त्रालयले दाहाललाई निलम्बन गरेको हो।

गृह मन्त्रालयका अनुसार २०८३ असोज १९ गतेको निर्णयअनुसार दाहाललाई निलम्बन गरी आरोपमाथि जाँचबुझ गर्न जाँचबुझ अधिकृत तोकिएको छ।

जाँचबुझ अधिकृतलाई तीन दिनभित्र जाँचबुझ सम्पन्न गरी मन्त्रालयमा प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।

गृह मन्त्रालयले निजामती तथा सुरक्षा निकायका कर्मचारीले प्रचलित कानुनअनुसार पदीय आचरण पालना गर्नुपर्ने र सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाको संरक्षण तथा गोपनीयता कायम गर्नुपर्ने जनाएको छ।

मन्त्रालयले मातहतका कर्मचारीबाट हुने पदीय आचरणविपरीतका कार्य, संवेदनशील तथा गोप्य सूचनाको चुहावट र शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि सूक्ष्म निगरानी तथा विश्लेषण भइरहेको जनाएको छ।

कानुनविपरीतका गतिविधिमा संलग्न जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा मन्त्रालय विधिको शासन, कानुनको परिपालना तथा सार्वजनिक शान्ति सुरक्षाको संरक्षणप्रति प्रतिबद्ध रहेको उल्लेख छ।

प्रतिक्रिया

ताजा समाचार