
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोशी प्रदेशको महिला (युवा)तर्फबाट केन्द्रीय सदस्य पदमा रुबी सिटौलाले उम्मेदवारी घोषणा गरेकी छन्।
झापाबाट कांग्रेसको राजनीतिमा सक्रिय रहेकी सिटौलाले अब आफ्नो राजनीतिक यात्रालाई राष्ट्रिय जिम्मेवारीसँग जोड्ने समय आएको बताउँदै उम्मेदवारी घोषणा गरेकी हुन्।
उम्मेदवारी घोषणा गर्दै सिटौलाले आफ्नो लक्ष्य केवल निर्वाचन जित्नु नभई त्यसपछि निर्माण हुने राजनीतिक यात्रालाई परिणाममुखी बनाउनु रहेको बताएकी छन्।
उनले कांग्रेसमा नयाँ आर्थिक सोच, प्रविधिमैत्री संगठन, अवसरमा समान पहुँच र राजनीतिक संस्थाप्रति पुनःविश्वास निर्माण प्रमुख आवश्यकता रहेको उल्लेख गरेकी छन्।
सिटौलाले आफ्नो उम्मेदवारीलाई कुनै क्षणिक राजनीतिक लहर नभई आगामी दशकमा कांग्रेस कस्तो हुनुपर्छ भन्ने आफ्नो दृष्टिकोणको सार्वजनिक घोषणाका रूपमा प्रस्तुत गरेकी छन्।
दन्तचिकित्सा शास्त्र अध्ययनरत सिटौला स्वास्थ्य क्षेत्रको अध्ययनसँगै सामाजिक तथा नीतिगत विषयमा पनि सक्रिय रहँदै आएकी छन्। उनले राजनीतिमा योग्यता, क्षमता, योगदान र नयाँ पुस्ताको सहभागितालाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै आएकी छन्।
सिटौलाले आफ्नो उम्मेदवारीमार्फत महिला तथा युवाको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउँदै कांग्रेसलाई नयाँ पुस्ताको अपेक्षा र बदलिँदो समयअनुकूल बनाउने संकल्पसमेत व्यक्त गरेकी छन्।
‘नयाँ अध्यायतर्फको यो यात्रामा स्पष्ट दृष्टिकोण र जिम्मेवारीबोधका साथ अघि बढेकी छु,’ उनले भनेकी छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित