कांग्रेस सभापतिमा किशोरसिंह राठौरको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राठौरले आफू सभापतिमा निर्वाचित भए कांग्रेसलाई एकताबद्ध बनाएर पुरानै शक्तिका रूपमा स्थापित गर्ने दाबी गरे। उनले बीपी कोइराला, गणेशमान सिंह, नोना कोइराला र महेन्द्रनारायण निधिका परिवारलाई पार्टीमा समेट्नुपर्नेमा जोड दिए।

‘मेचीदेखि महाकालीसम्मका नेता–कार्यकर्तालाई एउटै धागोमा उन्नेछु,’ राठौरले भने, ‘पार्टीलाई पुनः त्याग, बलिदान र संघर्षको पुरानो बाटोमा फर्काउनेछु।’

उनले पार्टीको नेतृत्व छनोट गर्ने अधिकार कार्यकर्तामै रहेको उल्लेख गर्दै स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनुपर्ने बताए। साथै, सभापतिमा उम्मेदवारी घोषणा गर्न लागेकै कारण आफ्नो क्षेत्रमा अधिवेशन लम्ब्याइएको आरोप पनि लगाए।

राठौरले कांग्रेसमा पद, प्रतिष्ठा र पैसाको राजनीति हाबी भएको भन्दै भ्रष्टाचार नियन्त्रणका लागि नेता, कार्यकर्ता र समाज सबै सुध्रिनुपर्ने धारणा राखे। पार्टीहरू नसुध्रिएसम्म देश निर्माण सम्भव नहुने उनको भनाइ थियो।

प्रतिक्रिया

ताजा समाचार