
सुनसरी । धरान ‘लाहुरेको सहर’का रूपमा परिचित छ । आधुनिक जीवनशैली र फेसनेबल सहरका रूपमा समेत चिनिएको धरान पछिल्लो समय साइक्लिङका लागि पनि परिचित हुँदै गएको छ । धरानका सडकदेखि आसपासका डाँडाकाँडा र ग्रामीण क्षेत्रसम्म साइकल चलाउने युवाको सङ्ख्या बढ्दो छ । साइकललाई मनोरञ्जन र यात्राको साधनका रूपमा मात्र नभई खेलकुद, साहसिक यात्रा र पर्यटनसँग जोडेर अघि बढाउने युवाहरू पनि धरानमा उत्तिकै छन् ।
धरान–११ का १८ वर्षीय दीपसागर तामाङको साइकल यात्रा अहिले साहसिक तथा प्रतिस्पर्धात्मक साइक्लिङसम्म पुगेको छ । सानै उमेरदेखि साइकल चलाउन रुचि राख्ने तामाङ जुनियर नेसनल च्याम्पियनसमेत भइसक्नुभएको छ । बाल्यकालमा साथीहरूले साइकल चलाएको देखेर उहाँलाई पनि चलाउने रहर जाग्यो । सामान्य साइकलबाट सुरु भएको उहाँको यात्रा अहिले नेपालका विभिन्न स्थान हुँदै भारतको आसामसम्म र माउन्टेन बाइकिङ प्रतियोगितासम्म पुगेको छ । ‘‘साथीहरूको साइकल देखेर मलाई पनि चलाउन मन लाग्यो । अनि आमा, बुबाले साइकल किनिदिनुभयो र चलाउन थालेँ । साइकलिङ अहिले मेरो जीवनकै महत्त्वपूर्ण हिस्सा बनेको छ’’, उहाँले भन्नुभयो ।
तामाङले भारतको आसामसहित नेपालका पोखरा, काठमाडौँ, ओखलढुङ्गा, गाईघाटलगायत विभिन्न स्थानमा आयोजना भएका साइक्लिङ कार्यक्रम तथा यात्रामा सहभागिता जनाइसक्नुभएको बताउनुभयो । उहाँको यात्रा अहिले माउन्टेन बाइकिङको प्रतिस्पर्धात्मक यात्रामा परिणत भएको छ । उहाँको महत्त्वपूर्ण अनुभवमध्ये कञ्चनजङ्घा आधार शिविरसम्मको यात्रा पनि एक हो । ताप्लेजुङमा गत वर्ष आयोजना गरिएको ‘सिरिजङ्घा पर्यटन महोत्सव–२०८२’ अन्तर्गत उहाँसहित चार जनाको टोलीले कञ्चनजङ्घा आधार शिविरसम्म साइकल यात्रा गर्नुभएको थियो, जुन जुनियर साइक्लिस्टमध्ये विश्वकै पहिलो टोली हो ।
धरानबाट सुरु भएको उक्त यात्रा सहज भने थिएन । कठिन भौगोलिक अवस्था, भिरपाखा र अप्ठ्यारो बाटोका कारण कतिपय स्थानमा साइकल चलाएर तथा कतिपय ठाउँमा बोकेर अघि बढ्नुपरेको उहाँले बताउनुभयो । त्यहाँसम्म पुग्न सजिलो थिएन । बाटो निकै अप्ठ्यारो थियो । साइकल कुदाउन सकिने ठाउँमा कुदाएर लग्यौँ, नसकिने ठाउँमा बोकेर हिँड्नुप¥यो । तीन दिनसम्म कठिन बाटो छिचोल्दै हामी कञ्चनजङ्घा आधार शिविर पुग्न सफल भयौँ । उहाँले भन्नुभयो ।
त्यसैगरी, तामाङले अन्नपूर्ण सर्किटमा आयोजना हुने माउन्टेन बाइक रेस ‘याक अट्याक’ मा समेत सहभागिता जनाइसक्नुभएको छ । लमजुङको बेँसीसहरबाट सुरु भई मनाङ हुँदै मुस्ताङको तातोपानीमा पुगेर समापन हुने सातदिने उक्त अन्तर्राष्ट्रिय रेसमा उहाँले रु ५० हजार पुरस्कारसहित दोस्रो स्थान हासिल गर्नुभएको थियो ।
त्यस्तै, ‘२०औँ राष्ट्रिय एमटीबी क्रस कन्ट्री’ तथा ‘१२औँ डाउनहिल च्याम्पियनसिप’ मा उहाँले जुनियरतर्फ दुवै विधामा प्रथम स्थान हासिल गर्नुभएको थियो । साइकल यात्राका क्रममा कहिलेकाहीँ अप्ठ्यारा अवस्थाको सामना गर्नुपरे पनि ती अनुभवले आफूलाई निरन्तर साइक्लिङका यात्रामा लाग्न प्रेरित गरेको उहाँ बताउनुहुन्छ । तामाङले सानै उमेरमा जुनियरतर्फबाट दर्जनौँ राष्ट्रिय तथा अन्तरराष्ट्रिय साइक्लिङ प्रतियोगितामा सहभागी भई उपाधि जितिसक्नुभएको छ । ‘‘अहिलेसम्म अन्य क्षेत्रतिर लाग्ने सोच बनाएको छैन, साइक्लिङ खेललाई नै निरन्तरता दिने र यसै क्षेत्रमा अझ राम्रो प्रदर्शन गर्ने लक्ष्य छ । अब हेरौँ, के हुन्छ’’, उहाँले भन्नुभयो ।
धरानका युवाका लागि भने साइक्लिङको उद्देश्य र अनुभव फरकफरक छन् । कसैले साथीहरूसँग सुरु गरेको यो यात्रा खेलकुदसम्म पु¥याएका छन् भने कसैले दैनिक आवतजावत, स्वास्थ्य र मनोरञ्जनसँग जोडेर निरन्तरता दिएका छन् । धरान–१२ का अमित श्रेष्ठका लागि साइक्लिङ स्वास्थ्य, मनोरञ्जन र दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा बनेको छ । सडकको बढ्दो व्यस्तता र सवारीसाधनको चापबीच आफूलाई सक्रिय र स्वस्थ राख्ने माध्यमका रूपमा उहाँले यसलाई अपनाउनुभएको छ । अस्तव्यस्त सडक, सवारीसाधनको चाप र बढ्दो प्रदूषणका बीच आफूलाई गतिशील तथा स्वस्थ राख्ने क्रममा साइकल चलाउन सुरु गरेका युवाहरू धरानमा सयौँ भेटिन्छन् ।
श्रेष्ठ भन्नुहुन्छ, ‘‘सुरुमा आवश्यकता जस्तो लागेको साइकल चलाउने कुरा बिस्तारै रहर बन्यो र अहिले अभिन्न जीवनशैली बनेको छ ।’’ उहाँका अनुसार साइकलमा यात्रा गर्दा गति र प्रकृतिको सामीप्यता महसुस गर्न पाइन्छ । शारीरिक रूपमा यसले ऊर्जावान् र तन्दुरुस्त राख्न ठूलो मद्दत गर्छ । शारीरिक स्वास्थ्यभन्दा ठूलो साइक्लिङको सकारात्मक प्रभाव मानसिक स्वास्थ्यमा पर्छ । साइकल चलाउँदा नयाँ र सकारात्मक विचारहरू आउँछन् । उहाँले भन्नुभयो, धरान उकालो, ओरालो र प्राकृतिक वातावरण भएको ठाउँ भएकाले साइक्लिङका लागि उपयुक्त रहेको उहाँको भनाइ छ ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित