
काठमाडौं । दशैँ तथा तिहारलाई लक्षित गर्दै असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएको छ।
यातायात व्यवस्था विभागमा यातायात व्यवसायी तथा सरोकारवालाबीच भएको संयुक्त बैठकले चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो।
अग्रिम टिकट बुकिङ खुला भएसँगै चाडपर्वको अवधिभर देशभर सञ्चालन हुने सार्वजनिक सवारीसाधनका लागि रुट इजाजत आवश्यक नपर्ने व्यवस्था गरिएको छ।
चाडपर्वका बेला काठमाडौं उपत्यकाभित्र र बाहिरिने सडकमा हुने ट्राफिक जाम कम गर्न अत्यावश्यक ढुवानीका साधनबाहेक अन्य ठूला सवारीसाधनलाई काठमाडौं उपत्यकामा आवतजावतमा रोक लगाउने निर्णयसमेत गरिएको छ।
तर, खाद्यान्न, औषधि, इन्धन र दूधलगायत अत्यावश्यक सामग्री बोकेका सवारीसाधनमा भने उक्त रोक लागू हुने छैन।
दशैँ नजिकिँदै गर्दा अग्रिम टिकट बुकिङ नखुलेका कारण अन्योलमा रहेका यात्रुलाई असोज २३ गतेदेखि टिकट बुकिङ खुल्ने निर्णयले राहत पुग्ने अपेक्षा गरिएको छ।
सडकको अवस्था र मौसमलाई समेत ध्यानमा राखेर अग्रिम टिकट बुकिङको मिति तय गरिएको बताइएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित